नेकपा विवाद समाधान उन्मुख, स्थायी कमिटी बैठक बस्दै
काठमाडौंँ। नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो तीन बजे बस्दैछ। यसअघि पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आइतबार तीन बजे बस्ने तय भएको छ।
यसअघि शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर महिनामा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेपछि दुई अध्यक्षबीच विवाद समाधानउन्मुख भएको नेताहरुले बताएका छन्।
प्रधानमन्त्री ओलीले राखेको एकता महाविधेशनको प्रस्तावलाई बहुमत सचिवालय सदस्यहरुले समर्थन गरेका थिए। अध्यक्ष पुष्पकमल दाहाल सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापाले समर्थन गरेका छन्। तर वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले भने मंसिरमा महाधिवेशन गर्न संभव नहुने धारणा राखेका थिए।
यसअघि दैनिक हुने गरेका दुई अध्यक्षबीचको छलफलले एकता महाधिवेशन गर्ने सहमति जुटाएको थियो। शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले एकता महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।
उक्त प्रस्तावमा बहुमत सदस्यले सहमति जनाएपछि नेकपाभित्रको देखिएको तत्कालको विवाद समाधान उन्मुख भएको एक नेताले बताए। ‘पार्टीले विवाद समाधान गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको छ। अहिले प्रधानमन्त्रीले ल्याउनु भएको प्रस्ताव पनि दुई अध्यक्षकै सहमतिमा आएको हो,’ एक स्थायी कमिटी सदस्यले डिसी नेपालसँग भने, ‘पार्टीमा एक व्यक्ति एक पदको कुरा उठिरहेका बेला यसको छिनोफानो अब महाधिवेशनले गर्छ।’
Facebook Comment