मौद्रिक नीतिले शेयर बजारमा उत्साह, तीन पटक सकारात्मक सर्किट लागेर बन्द
काठमाडौं। नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको प्रभावले शेयर बजारमा उत्साह देखिएको छ। शेयर बजारमा आइतबार तीन पटक सकारात्मक सर्किट लागेपछि एक घण्टामै कारोबार बन्द गरिएको छ।
आईतबार कारोबार सुरु भएपछि नै बढ्न सुरु गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक एक घण्टा ८ मिनमै ६ प्रतिशतले बढेपछि कारोबार बन्द गरिएको हो। यसदिन नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ अंकमा पुगेको छ।
राष्ट्र बैंकले शुक्रबार बजारको व्याजदर घट्ने गरी विस्तारकारी मौद्रिक नीति जारी गरेको छ। मौद्रिक नीतिले मार्जिन ल्याडिङको सिमा बढाउनुका साथै बैंकको सिसिडी अनुपात पनि बृद्धि गरिएकाले बजारमा तरलता सहज भई सस्तो व्याजदरमा ऋण पाउने आशमा लगानीकर्ता उत्साहित भएका छन्।
यसैगरी बैंक तथा वित्तिय संस्थाहरुले ३० प्रतिशत भन्दा माथि शेयर लाभांस दिनुपर्ने व्यवस्थाले पनि शेयर लगानीकर्तालाई आकर्षित गरेको छ। आईतबार १११ कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता शेयर कारोबारबाट ६ करोड २५ लाख ६६ हजार रुपैयाँको किनबेच भएको छ।
यसैगरी, आईतबार कारोबार भएका अन्य बाहेक सबै समूहगत परिसूचक पनि उकालो लागेको छ । जसमा सबैभन्दा बढी जीवन बीमा समूहको ५४८.६६ अंकले बढेको छ । यसैगरी निर्जीवन बीमा कम्पनी २०२.४, उत्पादन तथा प्रशोधन १४१.७८, लघुवित्त ९२.३९, बैंकिङ ८८.८७, विकास बैंक ६३.१३, अन्य ४९.३९, जलविद्युत ३६.१३ र फाइनान्स ९.०१ अंकले घटेको छ ।
Facebook Comment