पहिरामा बेपत्ता किशोरीको मृत्यु, खोलाले बगाउँदा वृद्धा बेपत्ता
धादिङ। गजुरी गाउँपालिका–२ मलेखुस्थित फुर्केखोला र मलेखुबजार पुल छेउमा पहिरामा परेर बेपत्ता किशोरीको शव फेला परेको छ । मृत्यु हुनेमा १७ वर्षीया निरुता परियार रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रराज खड्काले जानकारी दिए।
घरमाथिबाट पहिरो आएर घरसमेत बगाएको थियो । पहिरामा पुरिएकी निरुताको नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनालगायतले उद्धार गरेको उद्धारमा संलग्न रामहरि थापाले बताए। पहिरो जाँदा पाँच घर पुरिएका छन् । घर पुरिएकालाई छिमेकीको घरमा राखिएको छ । घटनामा पाँचजना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर छ ।
यसैगरी थाक्रे गाउँपालिका–६ की ६० वर्षीया लक्ष्मी पुनमगरलाई महेशखोलाले बगाउँदा बेपत्ता भएकी छन्। बाढी आएको खोला तर्न लाग्दा महादेव बेँसीबाट हराएको महादेव बेँसी प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक किरण पोखरेलले बताए। रासस
Facebook Comment