नारायणीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा जोखिम
नवलपरासी । नारायणी नदीमा पानीको बहाब बढ्दा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी दुवै जिल्लाका नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार नारायणी नदीमा मंगलबार बिहान गरिएको पछिल्लो मापनअनुसार १२ दशमलव ३२ मिटर पानी रहेको छ । नदीमा ११ मिटरभन्दा बढी पानी मापन भएमा सम्भावित जोखिमका रुपमा मानिन्छ।
नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नदीको तटीय क्षेत्रमा झन जोखिम बढ्दै गएको हो । दुवै जिल्लाका प्रशासन कार्यालयले तटीय क्षेत्रमा बस्ने सबैलाई सुरक्षित रहन आग्रह गरेको छ । सम्भावित जोखिमलाई मध्यनगर गर्दै विपत्को बेला आवश्यक पर्ने उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।
यता नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गण्डक व्यारेजका सबै ढोका यसअगावै खोली सकिएको छ । गण्डक ब्यारेज नजिक नारायणी नदीमा गरिएको पछिल्लो मापनअनुसार चार लाख १६ हजार क्युसेक प्रति सेकेण्ड पानी मापन गरिएको छ । यद्यपि, तीन लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेपछि जोखिम मानिन्छ ।
नारायणी नदीमा पानीको बहाव बढेसँगै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा पानी पसेको छ। सुस्ताको थारु टोल र सैनिक टोलमा पानी पसेको हो। यता जिल्लाको सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाको गाउँबस्तीका केही स्थानसमेत डुबानमा परेका छन्।
Facebook Comment