पूँजी बजारमा विदेशीले पनि लगानी गर्न पाउने

डिसी नेपाल
६ साउन २०७७ १६:५४

काठमाडौं । अव विदेशी लगानीकर्ताले पनि नेपालको पुँजी बजारमा लगानी गर्न पाउने भएका छन्। पुँजी बजारमा विदेशी लगानी भित्र्याउनका लागि नेपाल धितोपत्र बोर्डले ‘विशिष्टीकृत लगानी कोष सम्बन्धी नियमावली २०७५’ संशोधन गरेको छ।

बोर्डले कोषको दायरा फराकिलो पार्दै विदेशी लगानी तथा विदेशी कोष भित्र्याउन सो नियमावली परिवर्तन गरेको जनाएको छ। यसअघि विदेशी लगानीकर्ताले नेपालको पुँजीबजारमा लगानी गर्न पाउने व्यवस्था थिएन।

सो संसोधन अनुसार अब विदेशी लगानीकर्ता व्यक्ति वा संस्थाले लगानी गर्न चाहेमा उनीहरुले कोषमार्फत पुँजी बजारमा लागानी गर्न सक्नेछन्।

बोर्डका अनुसार संशोधन गरिएको नियमावली अनुसार योग्य लगानीकर्तामा द्विपक्षीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष, विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थाले नेपालमा कोष मार्फत लागानी गर्न सक्नेछन्।

सो नियमावलीमा प्राइभेट इक्वीटी फन्ड र भेन्चर क्यापिटल फन्डको दायरा विस्तार गरीने र डेब्ट इन्स्टुमेन्ट र ऋणलाई समावेश गर्ने बुदा थपिएको छ।

त्यस्तै विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानुनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना गर्न सक्नेछ । कोष व्यवस्थापनको कार्य समेत गर्न सक्नेछ।

त्यसैगरी प्राइभेट इक्विटी फण्डको दायरा विस्तार गरी यसको परिभाषामा साधारण सेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्टुमेन्ट) वा ऋण वा स्वःपुँजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष भनिएको छ। जसले विदेशी लगानीकर्ताले चाहेमा कोष स्थापना गरी पुँजी बजारमा प्रबेश गरी विभिन्न कम्पनीमा लगानी गर्न सक्नेछन्।

यसअघिको नियमावलीमा भेन्चर क्यापिटल फण्ड मात्र रहेकोमा त्यसको दायरा फराकिलो पारी ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्टुमेन्ट) वा ऋण लगानी गर्ने कोष भनेर समेत परिभाषा गरिएको छ।

सो नियमावली यही साउन १ गतेदेखि लागु भइसकेको बोर्डका प्रबक्ता निरज गिरीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *