पत्नीका हत्यारा पूर्व डिआइजी कोइराला आज छुट्दै

डिसी नेपाल
८ साउन २०७७ १०:४८

काठमाडौं। आजीवन कारावासको सजाय भोगिरहेका पत्नी हत्यारा रञ्जन कोइराला आज छुट्ने भएका छन्। पत्नी गीता ढकालको हत्या पुष्टि भएपछि आजीवन कारावासको सजाय भोग्दै आएका सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाको सजाय सर्वोच्च अदालतले सजाय घटाइदिएपछि उनी आज छुट्दैछन्।

डिल्लीबजार कारागारका जेलर गणेश आचार्यका अनुसार सबै प्रकृया पूरा गरे आज दिउसो उनी कारागारबाट विदा हुन लागेका हुन्। ‘अदालतको सबै प्रकृया पूरा भएको छ आजै छुट्नेछन्’, जेलर आचार्यले भने।

सशस्त्र प्रहरी बलको डीआईजी रहेकै बेला २७ पुस २०६८ मा उनले पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको जंगलमा लगेर शव समेत जलाएका थिए। शव जलाएर फर्कँदै गर्दा उनी स्थानीय बासिन्दाको कब्जा परेपछि प्रहरीले अनुसन्धान गरी अदालतमा बुझाएको थियो।

बुढानिलकण्ठस्थित घरमा हत्या गरेर गीताको शव मकवानपुर जिल्लाको जंगलमा लगेर जलाएको काठमाडौ जिल्ला आदलत, तत्कालीन पुरानावेदन अदालत र सर्वोच्च अदालतमा पुष्टि भएको थियो।

सर्वोच्च अदालतले पनि जिल्ला अदालतबाट दोषी ठहर भई सर्वश्वसहित जन्मकैद सहितको सजायलाई सदर गरेको थियो। तर सर्वोच्चले आफ्नै नजिरलाई समेत वेवास्था गरेर सजाय कम गरेको छ।

तर १५ असार २०७७ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले भने कैद घटाएर ८ बर्षमा कायम गरेपछि उनी आज छुट्न लागेका हुन्। ८ माघ २०६८ मा पक्राउ परेपछि थुनामा रहँदै आएका उनको आज ८ वर्ष ६ महीना कैद पूरा हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *