वायुसेवा कम्पनीले भदौ १ गतेदेखि जहाज उडाउने

डिसी नेपाल
९ साउन २०७७ ७:२२

काठमाडौँ। सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन्।

कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाई सेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिरहेका हुन्। निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलाइन्सलगायतले आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाउनका लागि स्वास्थ्य प्रोटोकललगायत मापदण्डको अभ्यासलाई निरन्तरता दिइरहेका छन्।

बुद्ध र यतीले दुई महिनाअघि देखि कोभिड महामारीबाट कसरी सुरक्षित उडान गर्ने भनेर कर्मचारी तया यात्रुका लागि अभ्यास उडान ‘डेमो’ उडान गर्दै आएका छन् । सातामा दुई पटकसम्म अभ्यास उडान गरिँदै आएको कम्पनीले जनाएका छन् ।

हवाई यात्रा गर्नेले अनिवार्य मास्क, फेससिल्ड, सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ । मास्क र सेनिटाइजर कम्पनीले उपलब्ध गराउनेछ भने फेससिल्डको कम्पनीले रकम लिनेछ ।

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले हवाई सेवा कम्पनी आवश्यक स्वास्थ्य मापदण्डका साथ सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको बताए। वायुसेवा कम्पनीले प्रोटोकल बनाएको र एयरलाइन्सका कर्मचारी तथा यात्रुले प्रभावकारी रुपमा पालना गरेको खण्डमा महामारीको जोखिम कम हुने उनको भनाइ रहेको समाचार आजको गोरखापत्रले छापेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *