नक्सा जारी गर्न दबाव दिने राष्ट्रघाती र नक्सा जारी गर्न ढिला गर्नेको देवत्वकरण हुन सक्दैन : दाहाल
काठमाडौं। सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्नो जोडबलमा भारतले अतिक्रमित गरेको भूमि समेटेर नयाँ नक्सा जारी गरेको दाबी गरेका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि आफूहरुले पनि भारतले अतिक्रमित गरेको भूमि समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई सुझाव दिएको तर सरकारले नक्सा जारी गर्ने भन्दा पनि भूमि फिर्ता ल्याउने भन्दै नक्सा जारी गर्न आनाकानी गरेको बताए।
‘भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि मैले अध्यक्षता गरेको स्थायी कमिटी बैठकले नेपालले पनि भारतले अतिक्रमित गरेको भूमि समेटेर नक्सा जारी गर्नुपर्छ भनेको थियो,’ दाहालले भने, ‘तर सरकारले नक्सा जारी गर्ने भन्दा पनि भूमि फिर्ता ल्याउने विषय महत्वपूर्ण हो भनेको तपाइँहरुले पनि सुन्नु भयो होला।’
उनले पार्टीले बारम्बार नक्सा जारी गर्ने कुरालाई उठाउँदा सरकारले बेवास्ता गरेको भन्दै नीति तथा कार्यक्रम ल्याउने दिन विहान बसेको सचिवालय बैठकले नीति तथा कार्यक्रममा नै नक्सा प्रशासन गर्ने विषय समावेश गर्न सुझाव दिएपछि प्रधानमन्त्री सहमत भएको र नक्सा जारी गर्ने विषय नीति तथा कार्यक्रममा समावेश भएको बताए।
‘तर अहिले त्यसको गलत व्याख्या गर्दै नक्सा जारी गर्न लगाउनेलाई राष्ट्रघाती र दलाल भन्ने तर जसले नक्सा जारी गर्न यति ढिला गर्यो उसलाई चाँहि देवत्वकरण गर्ने विषय सही हुन सक्दैन,’ उनले भने।
सरकार र प्रधानमन्त्रीप्रति आक्रामक देखिएको दाहालले पछिल्लो समय पार्टीमा पार्टीले सरकार चलाउने भन्दा पनि सत्ताले पार्टीमा हैकम जमाउन खोजेको टिप्पणी गरे।
उनले पार्टी भनेको विवेक र सरकार भनेको सत्ता हो भन्दै विवेकले सत्ताको नेतृत्व गर्नुपर्ने बताए। सरकारले पार्टीमा हैकम जमाउने अवस्था आयो भने वैज्ञानिक मान्यता वाहिर हुने उनको भनाइ थियो।
उनले दुई वर्षको अवधिमा विवेकले सत्ता चलाउने भन्दा पनि विवेकमाथि सत्ता हावी हुने हो कि भन्ने प्रश्न जन्माएको बताए। नेकपाले जनता समक्ष सुशासन दिने प्रतिवद्धता जाहेर गरेको तर पछिल्लो समय सुशसानका विषयमा निरन्तर प्रश्न उठेको उनको भनाइ थियो। उनले पछिल्लो समयमा पार्टीमा बैठक बस्न निकै ठूलो कसरत गर्नुपर्ने र बैठक बसिसकेपछि त्यसको महत्व र गरिमालाई कायम राख्ने वा नराख्ने भन्ने प्रकारका विषयमा विवाद हुने गरेको बताए
Facebook Comment