द पाइड पाइपर (कथा)

डिसी नेपाल
१० साउन २०७७ ८:४४

टेबलमा राखिएको फोन र त्यससँग सम्बन्धित यन्त्रहरु पुछपाछ गर्ने क्रममा मैले चित्रकथा भएको ‘द पाइड पाइपर’ पुस्तक भेट्टाएँ। यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरुमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ , मनमनै सोंचे। सरसफाईको काम सिध्याएपछि यो पुस्तक पढन थालें।

‘जर्मनीमा ह्यामिलिन नाउँ गरेको सहर थियो। त्यस सहरका बासिन्दा सुख–शान्तिपूर्वक जीवन बिताईरहेका थिए। एक दिन अचानक त्यो सहरमा हजारौंको संख्यामा मुसा आए र सहरमा जताततै उत्पात मच्चाउन थाले।

मुसाहरूले बच्चाहरुलाई टोक्न र बाटामा जे – जे भेटिए ती सब नष्ट गर्न थाले। मुसाको आतंकबाट ह्यामिलिनवासी ज्यादै भयभित भए। मुसा आतंकको समस्याबाट बच्नका लागि सहरवासीले अनेक उपाय गरे , तर सफल भएनन् । त्यति धेरै मुसा मार्नका निम्ति सहरमा प्रशस्त बिरालाहरु पनि थिएनन्।

एक दिन मुसाका कारण उत्पन्न समस्या समाधान गर्ने उपायबारे छलफल गर्न त्यँहाका सहरप्रमुखले बोलाएको आपतकालीन बैठकमा सहरावासीहरु भेला भए।

‘ए भाइ .. ! अमेरिकाको एउटा नम्बर मिलाइदिनोस् त …! भन्दै एक जना अधबैंशे व्यक्ति एक किशोरीसँगै आए र मेरो अघि नम्बर लेखेको कागज राखिदिए ! ती व्यक्ति फोनमा बोल्न लागे – ‘अँ .. अँ .. म बुवा बोल्या हो | के छ त तेरो हालचाल ? ए … काम पाइस् …. ! ठीक छ , ठीक छ। अहिलेलाई जे जस्तो काम पाईन्छ त्यसैमा झुन्डी .. जसरी भए पनि आफ्नो पढाइ र बस्ने खाने खर्चको जोगाड गर्ने काम गर्नु ! के अरे ? अँ .. यताको हालखबर उस्तै छ। काम र मामको समस्याले गर्दा मानिसहरुको बेहाल भएको छ। महंगीको त कुरै नगर ! जनतालाई जीवन धान्नै गाह्रो छ।

बेरोजगारीको कारणले गर्दा जताततै हत्या , लुटपात ,अपहरणजस्ता आपराधिक गतिविधि बढेको बढ़यै छ। बिहान घरबाट हिंडेको मान्छे बेलुका फर्किने हो कि होइन कुनै ठेगान हुँदैन। जे होस् , तैंले त्यँहा दु:ख गरेर केहि गर्न सकिस् भने केही होला कि भन्ने आस छ , नत्र त .. खोई के भन्ने ! ए .. ल यहाँ तेरी बहिनीले पनि तँसँग कुरा गर्ने रे , ल गर .. !’ त्यसो भन्दै उनले फोन युवतीको हातमा थमाईदिए।

‘दादा ! दर्शन … सन्चै होईसिन्छ ? हजुर .. हजुर .. हो मेरो पनि अब छिट्टै नै रिजल्ट हुन्छ। मेरा जम्मै साथीहरु उच्चशिक्षाका लागि उतै जाने भन्दैछन्। म पनि त्यहीं आएर पढछु है दादा .. !’ युवतीले आफ्नो दाजुसँग अनुनय गर्दै बोलिन्।

‘खोई ल्या , यता म बोलुं ..’ युवतीको पिताले छोरीको हातबाट फोन लिएर बोले ‘के अरे .. ? आमाले के भन्छे भनेको .. ? उही त हो नि जति खेर पनि अब मेरो छोरोसँग कहिले भेट हुने हो .. भनेर रोईरहन्छे। अँ .. सम्झाउनुसम्म सम्झाएँ , हाम्रो छोरो मात्र विदेश गएको होइन , यहाँ घरैपिच्छेका छोराछोरीहरु विदेशिएका छन् भनेर कत्ति भने , तर सम्झने होइन। ल त अहिलेलाई फोन राख्छु। राम्ररी काम गर्नु ! बरालिने काम नगर्नु !’ त्यति भनेपछि उनले फोन राखीदिए र पैसा तिरे।

ती बाबुछोरी गएपछि मैले फेरी ‘द पाइड पाइपर’ को कथा पढ्न थालें।

‘अचानक ह्यामिलिन सहरमा अनौठो पहिरन लगाएको मानिस आयो। त्यो नौलो मानिसले लगाएको टोपीको किनारमा हरियो रंगको प्वाँख सिउरेको थियो भने कम्मरमा एउटा बाँसुरी घुसारेको थियो। ‘म तपाईंहरुलाई मुसाको आतंकबाट छुटकारा दिलाउन सक्छु ।’ त्यो मानिसले भन्यो। ‘तर त्यसको सट्टामा तपाईंहरुले मैले मागेको रकम दिनुपर्छ।’

सहरप्रमुख र सहरावासीहरुले त्यो मानिसले भनेको सर्त माने। उसको नाम सोधे।

‘मेरो नाम पाइड पाइपर हो’ उसले भन्यो।

त्यसपछि त्यो बाँसुरीवादक सहरको छेउ भएर बगिरहेको नदीको किनारामा गएर तन्मयताका साथ बाँसुरी बजाउन थाल्यो।

पाइड पाइपरले बजाएको बाँसुरीबाट निस्केको जादुई धुन सहरभरि तरंगित हुन थाल्यो। सहरका कुनाकाप्चाबाट निस्केर ताँतीका ताँती मुसाहरु बाँसुरीको धुनलाई पच्छ्याउँदै नदी किनारतिर लागे।
नदीको किनारमा पुगेपछि सबै मुसाले नदीमा हामफाले र विलिन भए। त्यसपछि त्यस सहरमा एउटा मुसा पनि बाँकी भएन।

सहरवासीहरुले त्यो दृश्य आफ्ना घरका झ्याल , कौसी र खुला ठाउँबाट हेरिरहेका थिए। मुसाबाट छुटकारा पाएकोमा ज्यादै खुशी भएका सहरवासीले खुसियाली मनाए !

‘दाइ एउटा नम्बर मिलाईदिनुहोस् त अमेरिका … !’ एक हुल विद्यार्थी आए र एकले निकै चुरीफुरीका साथ भन्यो। मैले द पाइड पाइपर बन्द गरें र उसले भनेको नम्बर मिलाउन प्रयत्न गरें। उताको घण्टी बज्न थालेपछि मैले फोन दिएँ|

‘को रतन दाइ हो .. ? म विजय बोल्दै छु। अँ .. हो .. हामी आठै जना साथीको भिसा मिल्यो। अँ .. हाम्रो पुरै ग्यांग उतै आउने भयो। काम त पाईएला नि ! होइन दाइ , एकपटक जसोतसो त्यहीं छिर्न पाए त भइगयो नि .. अँ मिनु दिज्युहरु पनि स–परिवार त्यतै आउनुहुनेछ। ल .. ल .. भिसा पाएको कुरा दाइलाई यसो खबर गरिदिउँ भनेर फोन गर्या हो। भेटमा कुरा गरौंला।

‘के हो भाइ ? तपाईंहरु सबै विदेश जाने हुनु भयो कि क्या हो ?’ मैले उसको हातबाट पैसा लिँदै प्रश्न गरें।

‘अँ दाइ सबै उतै जाने भइयो …।’ अनुहार उज्यालो पार्दै प्रफुल्लित स्वरमा अघिकै केटो बोल्यो।

तपाईंहरु युवाजति यसरी विदेशीएपछि यो देशमा को बस्ने त ? बुढाखाडा र अशक्तहरु मात्रै ?’ मैले खुद्रा फर्काउँदै भनें। उसले केही उत्तर दिएन।

उनीहरु गएपछि फेरि ‘द पाइड पाइपर’ पढन थालें।

‘पाइड पाइपरले ह्यामिलिएनवासीलाई मुसाको आतंकबाट छुटकारा दिलायो र ऊ आफूले पाउनुपर्ने रकम लिनका लागि सहरप्रमुख कहाँ गयो। सहरप्रमुखले असाध्य लालची थियो। उसले पाइड पाइपरलाई आफूले कबोलेजति रकम दिन मानेन।

सहरप्रमुखले धोका दिएकोमा पाइड पाइपर एकदमै रिसायो। उसले सहरवासीहरुलाई सजाय दिने निर्णय गर्यो। ऊ सरासर सहरदेखि बाहिर गयो र एकनाससँग बाँसुरी बजाउन थाल्यो।

‘ए भाइ ! छिटो एउटा नम्बर मिलाईदिनोस् त …।’ हतारिँदै आएका एक जना ग्राहकले मेरो अघिल्तिर नम्बर राखिदिए। हातमा फोन लिनासाथ उनी बेस्सरी कुर्लिन थाले – ‘केरे …? पढाइ सकिएपछि यतै फर्कन्छु भन्छस् अरे ? तँ आमा – छोराले कुरा मिलाएर हुँदैन बाबै ! भन्दिया छु। आफू पार्टीमा लागेको हुनाले कत्रो तिगडमबाजी गरेर तँलाई पूर्ण छात्रवृतिमा पढ्न पठाएको। लरतरो मान्छेले गर्ने नसक्ने काम हो यो। तँ भने बडो देशभक्त बन खोज्ने ? यहाँ न जिउ – धनको सुरक्षा छ , न त भविष्यको। पढाई सिध्याएपछी पनि यता फर्कने होइन, भनिदिया छु। त्यहाँ तँ जस्ता लाखौँ युवा छन् आफ्नो दुनो सोझ्याउन बसेका , बुझिस् ? ल। पछि कुरो गर्दै गरौंला।’

हाँडीमा मकै पडकेको झैं गरेर आफू मात्र एकोहोरो बोलेपछि फोन राखे उनले।

‘लौन बाबु ! छोरोको फोन मिलाई दिनुहोस् न !’ नियमितजस्तै फोन गर्न आईरहने एक बूढीआमाले मेरो अघि आएर भनिन्। बिचरी बूढीआमैले हिजो बेलुकी पनि आफ्नो एक मात्र सन्तान छोरासँग कुरा गर्न खोज्दा उता फोन नै उठेन।

‘बस्नोस् न आमा !’ मैले भनें , र उनले दिएको नम्बरमा फोन मिलाउने प्रयास गरें। बल्लतल्ल घण्टी बज्यो , तर उताबाट अहिले पनि कसैले फोन उठाएन | निन्याउरो अनुहार पारेकी बूढीआमैलाई ‘एकछिनपछि फेरी कोशिस गरौंला है त आमा’ भनें।

‘यसबाजी त छोरालाई निक्कै छिटो फोन गर्न लाग्नुभयो नि आमा … !’ मैले कुरो कोट्याएँ।

‘हो बाबु , मेरा देउरानी र उनका छोरी –ज्वाईं सबै तिर्थ जाने भएका छन्। मलाई पनि जाउँ भनेका छन् ।संगी –साथी पाएपछि मैले पनि जाने आँट गरेकी छु। यत्रो ठूलो काम आँटदा छोरासँग एकपटक सोध्नै पर्यो’ उनले भनिन्।

‘तपाईंको छोरा विदेश गएको त निकै वर्ष भइसक्यो होईन आमा ? मैले फेरि सोधें।

‘हो बाबु … आउँदो मंसिर चार गते उसले देश छोडेको आठ वर्ष लाग्छ |’ खुईया गर्दै उनले भनिन्।

‘अनि यत्तिका वर्ष बित्दा पनि उनी यता आउन खोज्दैनन् त ?’ मेरो मुखबाट कुरा फुस्कियो।

‘खोज्छ बाबु … आउन त किन नखोज्नु , तर खोई कुन्नि कस्तो कागज बनाउन नसकेको हुनाले हो , आउन सकेको छैन भन्छ। बरा आफू जन्मेको , हुर्केको गाउँघर सम्झेर कति रुँदो हो उनको मन।’ भावविभोर हुँदै भनिन् उनले।

‘तपाईंसँग यहाँ को बस्छ त ?’ मैले फेरि प्रश्न तेर्स्याएँ।

‘एउटी मजस्तै बूढी छिन्। हुन त उनी मेरी कतिपट्टीको पनि नातागोता होईनन्, तर बालविधवा भएर गाउँमा साह्रै दु:ख पाएर बसेकी थिइन, उनैलाई मैले साथमा राखेकी छु। भयो धेरै वर्ष। अब त हामी एकै आँतका दिदी – बहिनिजस्तै भएर बसेका छौं।’

फेरि फोन लगाउने कोशिस गरें। यसबाजी पनि उता घण्टी गईरह्यो , तर कसैले पनि फोन उठाएनन्।

‘होइन यति विघ्न कोशिस गर्दा पनि उता किन फोन उठेन बाबु … ! कतै मेरो छोरो बिरामी परेर पो कोठामा नभएको हो कि ..! लौ न प्रभु अब म के गरौँ ?’ एकाएक अधीर भएर विवशतापूर्ण स्वरमा भनिन् उनले।

‘पिर नगर्नुहोस् आमा , तपाईंको छोरो अन्त कतै गएका होलान्। भरैभोलि फर्कन सक्छन्।’ मैले उनको मडारिएको मनलाई धेरै कुरा भनेर सान्त्वना दिने प्रयास गरें।

‘छोरो देश छोडेर परदेश गएको यत्तिका वर्ष भइसक्यो , तर मेरा आँखामा भने विदेश जान ऊ हिडेंको दिनको घटना अझै पनि झलझली नाचिरहन्छ। त्यस दिन उसलाई जहाजसम्म पुर्याउन म पनि गएकी थिएँ। बाटाभरि ऊ मेरो हात समातेर भक्कानिएर रोइरह्यो।  रुँदारुँदा मेरा आँखाहरु पनि बारुलाले डसेजस्तै गरी सुन्निएका थिए। जहाज आएपछि ऊसंगै सबै यात्रुहरु लाम लागेर गए। उसले एकपटक पनि फर्केर हेरेन। ऊ जहाजभित्र पस्यो। जहाजको ढोका बन्द भयो। त्यसपछि ऊ कता हरायो कता ?’ भन्दै बूढीआमाले हत्केलाले आँसु पुछ्न थालिन्। उनको अवस्था देखेर मेरो मन साह्रै नै कुँडियो।

बूढीआमा दिउँसो फेरि आएर छोरासँग कुरा गर्ने मनसाय जनाएर घरतिर लागिन्। त्यसपछि मैले ‘द पाइड पाइपर’ को कथा पढ्न थालें।

‘पाइड पाइपरले बजाएको एक तमासको धुन ह्यामिलिन सहरभरि गुन्जिन थाल्यो। त्यो धुन सुनेर सहरका बालबालिका पाइड पाइपर भएतिर गईरहेका थिए। आफ्ना बालबालिका पाइड पाइपरलाई पछ्याउँदै गइरहेको देखेर तिनका अभिभावकहरुले उनीहरुलाई फर्काउन अनेक प्रयत्न गरे , तर बालबालिकाले पछि फर्केर पनि हेरेनन्।

अन्त्यमा, त्यो पाइड पाइपर बच्चाहरु सहित एउटा पहाडको नजिक पुग्यो | उनीहरु पुगेको पहाड बिचमा चिरियो | पाइड पाइपर बाँसुरी बजाउंदै चिरिएको ओढारभित्र पसे | त्यसपछि त्यो ओढारको ढोका बन्द भयो। बिस्तारै बाँसुरीको धुन पनि सुनिन छाड्यो।

त्यसरी सहरवासीले आफ्नै आँखाको अगाडि आफ्ना लालाबालाहरु ओढारमा कता हो कता विलिन भएको देखे | अभिभावकहरु दु:ख र पीडाले आकुलव्याकुल भएर शोकमा डुबे।

मुसाको आतंकबाट बचेका ह्यामिलिनवासीहरुले यसरी ठूलो मूल्य चुकाउनुपर्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *