वर्षा र पहिरोले बेलकोटगढीका जनता त्रसित, समुदाय खानेपानी विहीन

डिसी नेपाल
१० साउन २०७७ ११:०१

नुवाकोट। केहीदिन यता लगातार परेको बर्षाको कारण नुवाकोटको बेलकोटगढी नगरपालिकाको जनजीवन प्रभावित बनेको छ । बर्षाको कारण बेलकोटगढी नगरपालिका ८ हरे प्रियडाँडाका अक्कल बहादुरको शुक्रवार राती घर भत्कदा मृत्यु भएको थियो । शुक्रवार बिहान आएको पहिरोले बेलकोगढी ५ दुई पिपलका ६० घर जोखिममा रहेका छ्न ।

अविरल बर्षाको कारण ५०० मिटर माथिबाट पहिरो आई स्थानीय बेस्नेलाल श्रेष्ठ , पुर्ण बहादुर श्रेष्ठ , तुलसीदास श्रेष्ठ, लक्ष्मी बर्देवा र राम कृष्ण श्रेष्ठको घर पुर्ण रुपले क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना पश्चात् नेपाल प्रहरी ,नेपाली सेनाको टोली खटाइ स्थानिएको उद्धार गरिएको प्रहरी उपरीक्षक एवम प्रहरी प्रमुख नारायण काफ्लेले जानकारी दिए ।

जोखिममा रहेका घरका २५१ जना प्रभावित भएका छन । जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउमा सारिएको स्थानीय बताउछ्न । पहिरोबाट प्रभावित जनसमुदायलाई जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटले घटनाको जानकारी भएको ९ घण्टा भित्रै वेलकोटगढी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, नुवाकोट शाखा र स्थानीय जनसमुदायसँगको समन्वयमा पीडितहरुको घरमै पुगी टेन्ट त्रिपाल,खाद्य राहत सामग्रीको सेट वितरण गरेकोछ । यस क्रममा पूर्ण रुपमा घर क्षति भएका ५ परिवारलाई ५ थान टेण्ट, ५ सेट गैरखाद्य समग्री सेट वितरण गरिएको छ भने जोखिममा रहेका परिवारलाई वितरण गर्ने गरी २ थान टेण्ट र ४० थान त्रिपाल वेलकोटगढी नगरपालिका वडा नं. ५ का वडाअध्यक्षलाई जिम्मा लगाइएको छ ।

विपदको कठिन अवस्थामा पीडितहरुले राहत रकम र सामग्री प्राप्त गर्न पूरा गर्नु पर्ने प्रक्रियागत झण्झट केहीहद सम्म भए पनि कम गर्न सकियोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयबाट यो प्रयासलाई निरन्तरता दिइएको हो । यस जिल्लामा विपद् प्रभावित परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट यथासंभव फिल्डमै पुगी राहत प्रदान गर्ने प्रयास गरिरहेको छ । प्रभावित परिवारलाई खाद्यान्न लगायत राहत खाध्यान्न छिटो भन्दा छिटो पुर्‍याउने प्रयास भैरहेको अवस्थामा नुवाकोट जिल्लाका गरिब असहायहरुको सहयात्रीको रुपमा कार्य गरिरहेका सामाजिक अभियन्ता मच्छिन्द्रनरसिंहको प्याकुरेलको नेतृत्वको युवा अभियान नुवाकोटको टोलि पनि पहिरो प्रभावित परिवारको लागि थप सहयोगको साथमा घटना स्थल आज आवश्यक राहत सामाग्री लिएर जाँदै छ ।

उक्त टोलिले लकडाउनको समयमा नुवाकोट जिल्लाका विपदमा परेका करिव ११०० घर परिवारलाई राहत वितरण गर्नुका साथै सिन्धुपाल्चोकका पहिरोबाट प्रभावित परिवारलाई ४३ हजारको सहयोग गरेको थिए । त्यस्तै बेलकोगढी नगरपालिका ६ मा अविरल बर्षाकै कारण बिजुलीको पोल ढल्दा तीन दिन अगाडि देखि सो क्षेत्र अन्धकार भएको छ । नगरपालिकाको देउरालीमा वडा कार्यलाई भवन निर्माणको लागि भन्दै जथाभावी घडेरी खार्नाले अविरल वर्षा सँगै सो पोल ढलेको स्थानीय बताउछ्न । तीन दिन देखि नगरपालिका भित्रको देउराली, भगेरी, महादेव खर्क, सालखर्क लगाएतका क्षेत्रका करिव २०० सय घर अन्धकारमा रहेको एक स्थानीयले जानकारी दिए ।

उता, बेलकोटगढी नगरपालिका, ८ वसढुंगाका ९ परिवारलाई खानेपानीको अत्यन्तै समस्या भएको छ । पहिरोले खानेपानीको ट्याङ्की बगाइदिएपछि उनीहरुलाई खानेपानीको समस्या भएको हो । खानेपानीलाई लिएर स्थानीय गहिरो चिन्तामा परेका छन् ।

‘कतै मुलमुहानमा पानी लिन जाउ भने पहिरोले फर्कन नपाइएला भन्ने चिन्ता’ एक स्थानीयले भने । उनका अनुसार सोही ९ परिवार नजिकैको खोलामा बाढी आएको पानी खान बाध्य छन् । खानेपानीको बिषयलाई लिएर गम्भीर रहेका स्थानीयबासीले सम्बन्धित निकायलाई अपिल नगरेको होइन । प्रयोग गर्दै आएको पानीको ट्याङ्की पूर्ण रुपमा क्षती भएको उनीहरुको भनाइ छ ।

उनीहरुले खानेपानीको लागि जतिससक्दो चाँडो व्यवस्था गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । उनीहरुले भने ‘अरु बिषय भए टार्न हुन्थ्यो । खानेपानीको निकै समस्या भएको छ ।’ उनीहरुले थप्छन् ‘हाम्रो विनम्र अनुरोध छ, जतिसक्दो छिटो पानीको व्यवस्थापन गरिदिनु होला । बाढी आएको खोलाको पानी पिएर रोगले मरिएला भन्ने चिन्ता भएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *