बाढीपहिरो प्रभावितलाई खाद्यान्न अभाव, राजमार्गमा सडक भासिने क्रम बढ्यो

डिसी नेपाल
११ साउन २०७७ १०:००

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितहरु खाद्यान्न अभावको चपेटामा पर्न थालेका छन्। बाह्रबिसेदेखि तातोपानी नाकासम्मको २६ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा नदीले सडक कटान गरेपछि सवारी नचल्दा खाद्यान्न अभाव भोग्नुपरेको प्रभावितले गुनासो गरेका छन्।

गत असार २५ गते बाढीले पुल बगाएपछि बाह्रबिसे नगरपालिकाको जम्बु, खागदलसहित भोटेकोशी गाउँपालिकाको चाकु, हिन्दी र लिपिङका स्थानीयवासी समस्यामा परेका छन्। सडकले बाह्रबिसे र भोटेकोशी जोड्न नसक्दा खोलाको जोखिम मोलेर स्थानीयवासी खाद्यान्न जोहो गर्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन्। यस्तै बाह्रबिसे नगरपालिकाको मानेश्वारा र भोटेकोशी गाउँपालिकाका पाँचवटै वडा खाद्यान्न अभाव भएको जनाइएको छ।

धान निकै कम मात्रमा उत्पादन हुने यस क्षेत्रका स्थानीयवासी पानी धेरै परेर बाटो भत्किएपछि खाद्यान्न ढुवानीमा असहज हुँदा पीडित प्रशासन र स्थानीय सरकारको भर पर्नुपरेको छ । छिमेकी मुलुक चीनसँगको साझेदारीमा ४० मेट्रिक टन खाद्यान्न बाढीपीडितका लागि आउने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको भनाइ छ । ‘चीनको न्यालाम जिल्लासँग कुरा भएको छ, एक साताभित्रै टेण्ट र खाद्यान्न आउँछ’, उनले भने।

राजमार्गमा सडक भासिने क्रम बढ्यो

राजधानी जोड्ने अरनिको राजमार्गमा पर्ने कोठे–बलेफी खण्डको कोठेभिरमा सडक २०० मिटर भासिएको छ । भिरमा वर्षौँदेखि एकतर्फी मात्रै ट्र्याक थियो । त्यही ट्र्याक पनि नदीले कटान गरेपछि भासिएको हो । यस्तै बाह्रबिसेनजिकै महभिरमा पनि नदीले सडक कटान गरेको छ । केही दिनदेखि सो खण्डमा दैनिकरूपमा सडक भासिन थालेको थियो ।

त्यस्तै जुरे पहिरो भएको क्षेत्रमा पनि सडकलाई सुनकोशी नदीले कटान गरेको छ भने माथिबाट लेदोले सडक ढाकेको छ । सडक जोगाउन नदीबाट लगाउनुपर्ने मेसेरेनरी पर्खाल, प्लम्ब ढलान, जाली गाह्रोजस्ता संरचना गुणस्तरहीन भएपछि नदीले सडक कटान गर्ने र भासिदै जाने क्रम देखिएको हो।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले नदीमा बाढी आएपछि सडक कटान गर्ने र भासिने गरेको बताए। राजमार्ग अवरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ गरेर काम गर्दै आएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *