नेकपामा नेताहरु सर्वाजनिक रुपमै आरोप–प्रत्यारोपमा उत्रिए

डिसी नेपाल
११ साउन २०७७ १०:४८

काठमाडौं। सत्तारुढ दल नेकपामा  चर्किएको विवाद आरोप–प्रत्यारोप तहमा पुगेको छ। प्रचण्ड–माधव नेपाल समूहले पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि शुरु भएको विवादकाबीच नेताहरु आरोप–प्रत्यारोपमा उत्रिएका हुन्।

यही साउन तीन गते बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ‘अर्ली’ महाविधेशन गर्ने प्रस्ताव गरेपछि त्यसमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सहमति जनाए। तर, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले सो प्रस्तावमा चित्त नबुझाएपछि प्रचण्ड पनि ब्याक भए। अनि शुरु भयो सामाजिक सञ्जालमा आरोप प्रत्यारोप।

महाधिवेशनबारे प्रचण्ड–माधव समूह विश्वस्थ नदेखिएपछि पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा लेखे, ‘पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेश गर्छौं भन्ने नेताहरु ३ वर्ष भित्रै महाधिवेशन गरौं भन्दा सकिँदैन भनेर पन्छिन खोज्नु उचित हो र?’

पोखरेलले समाजिक सञ्जालबाट प्रश्न गरेपछि उनलाई जवाफ पनि सामाजिक सञ्जालबाटै दिइयो। पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले ट्वीटरमा लेखे, ‘दुई बर्षसम्म आयोग–विभागलाई पूर्णता दिन नसक्ने, सदस्यताको एकीकृत अभिलेख बनाउन नसक्ने र आलोचना हुन्छ भनेपछि बैठकै नबोलाउने नेतृत्वले ४ महिनामा महाधिवेशन हुन्छ भन्दा अरूले पत्याइदिनु पर्ने? हाल उत्पन्न समस्यालाई हल गरेर केकले तोकेकै २०७७ चैत २५–३० मा महाधिवेशन गर्न कसले रोकेको छ र?’


असार १० गते शुरु भएको नेपाक स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि उत्कर्षमा पुगेको विवाद साउन तीनगतेसम्म आइपुग्दा केही मत्थर भएजस्तो भएको थियो। तर, सामाजिक सञ्जालमा नेकपा नेताहरुको दोहोरी भने चलिरहेकै थियो। यहीबीचमा गएको शुक्रबार नेकपा अध्यक्ष प्रचण्डले पुष्पलाल स्मृति दिवसमा आयोजित एक कार्यक्रममा उत्तजेक भाषण गरे।

उनले दिएको अभिव्यक्तिले मत्थर हुँदै गएको जस्तो देखिएको नेकपाको विवाद पुनः चर्किने संकेत गर्छ। उनले त्यो दिन आफूलाई ‘भारतीय दलाल’ देखाउन प्रधानमन्त्री ओली समूह सक्रिय रहेको भन्दै नेपालले जारी गरेको नक्सा आफ्नो पहलमा भएको बताए। उनले पार्टीको केन्द्रीय कमिटीले र पार्टीको सचिवालयले सरकारलाई नयाँ नक्सा जारी गर्न निर्देशन दिएपछिमात्र नयाँ नक्सा जारी भएको दावी गर्दै प्रधानमन्त्री ओलीले यसको एकलौटी क्रेडिट लिएको भन्दै आपत्ति जनाए।

प्रचण्डको सो अभिव्यक्तिले नेकपामा तरंग ल्याएको छ। प्रधानमन्त्रीकै सचिवालयबाट प्रचण्डको अभिव्यक्तिको खण्डन भएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले शनिबार फेसबुकमा लामो लेख लेखेर प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्। ‘यसरी दिउँसै रात पार्ने तथ्यहीन कुरा गर्नुको साटो बरू आफू प्रधानमन्त्री रहेको बेला पहिल्यै यो नक्सा यसैगरी प्रकाशित गरेर इतिहास रचेको भए हुँदैनथ्यो होला र? मात्र निर्देशन दिएको भरमा हुने यति सजिलो काम किन आफैले नगरेको होला?’

यतिमात्र होइन ओली निकटका नेता प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि यो विषयमा प्रचण्डलाई सामाजिक सञ्जालमाफर्त नै जवाफ दिएका छन्। उनले लेखेका छन्, ‘कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाले होइन मैले हो भन्न कसरी सकेकाे?’

प्रचण्डको अभिव्यक्तिपछि प्रधानमन्त्री ओलीको सचिवालयकै सदस्यबाट सामाजिक सञ्जालमा प्रश्न उठाएपछि शनिबार राति १२ बजे वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिएका पार्टी केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजाललले ट्वीट गरे, ‘पोल खोल्दै जाँदा अन्ततः सबै नांगै हुने हो। ‘शोले’मा वीरु (धर्मेन्द्र)का लागि वसन्ती (हेमा मालिनी) माग्न पुग्दा जय (अमिताभ बच्चन) ले प्रशंसा गरे जस्तो गरी एकएक पोल खोल्छन्। कामना गरौँ, कतै आफ्नै साथीहरुका बारेमा यसैगरी एकएक पोल खुल्दै नजाऊन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *