राष्ट्रसंघीय सुरक्षा परिषद, भारत, नेपाल र जीपको कथाः मञ्जीभसिंह पुरी, पूर्व भारतीय राजदूत

डिसी नेपाल
११ साउन २०७७ ११:२६

काठमाडौं। नेपालमा तत्कालीन माओवादी विद्रोही र राजनैतिक दलहरुबीच विस्तृत शान्ति सम्झौता भएपछि शान्ति सम्झौताको कार्यान्वयन, विद्रोहीहरुको निःशस्त्रीकरण र संविधानसभाको निर्वाचनको लागि नेपालमा संयुक्त राष्ट्रसंघीय मिशन (अनमिन) आएको थियो । नेपालका लागि पूर्व भारतीय राजदूत मञ्जीवभसिंह पुरी नेपालबाट अनमिन विदा हुने बेलामा भने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको प्रतिनिधि थिए । पछि उनी नेपालका लागि राजदूत भएर आएका थिए ।

नेपालबाट अनमिन विदा हुने बेला भएका घटनाको स्मरण गर्दै पुरीले त्यतिबेला भारतले नेपाली सेनालाई ठूलो संख्यामा गाडीहरु दिएको खुलासा गरेका छन् । हिन्दूस्तान टाइम्समा एक लेख लेख्दै पुरीले तत्कालीन घटनाक्रमको बारेमा खुलासा गरेका छन् । भारतले अनमिनको प्रयोजनका लागि दिएका गाडीहरु अनमिनको कार्यकाल समाप्त भएपछि दक्षिण अफ्रिकामा अर्को मिशनको लागि लैजान चाहेको तर भारतले प्रस्ट रुपमा ती गाडीहरु नेपाली सेनालाई दिन भनेको उनले खुलासा गरेका छन् । पुरीको अंग्रेजी भाषामा लेखिएको लेखको नेपालीमा भावानुवाद यस्तो छ –

जनवरी १५ २०११, त्यो दिन शनिबार थियो । न्यूयोर्कमा हिउँ परिरहेको थियो तर म हडबडाएँ जब मलाई भनियो कि संयुक्त राष्ट्रसंघका राजनैतिक मामिलाका उपमहासचिव मसँग कुरा गर्न चाहन्छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा नयाँ भएकाले पनि म आत्तिँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा अत्यन्तै महत्वपूर्ण विषयमा ‘डील’ गर्न तयार भएँ । त्यो कुराकानी जीपहरुको बारेमा थियो ।

भारतले २०११ देखि २०१२ सम्म संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा सेवा गरेको थियो, त्यो समय जब विश्वस्तरमा अरब स्प्रिङ र सिरियामा द्वन्द्वको सुरुवातसहितका कैयौं ठूला घटना भए । सुरक्षा परिषदमा भारतको पहिलो प्रमुख काम भनेको नेपालमा राष्ट्रसंघीय मिशन (अनमिन)को अन्त्य गर्नु थियो । त्यतिबेला म संयुक्त राष्ट्रसंघमा भारतको सहायक स्थायी प्रतिनिधि थिएँ ।

नोभेम्बर २००६ मा नेपाल सरकार र माओवादीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए जसको उद्देश्य १ दशकभन्दा बढी समय देशलाई तहसनहस पारेको गृहयुद्ध अन्त्य गर्नु थियो । विद्रोही सेनालाई निःशस्त्र गर्नको लागि नेपालको अनुरोधमा सुरक्षा परिषदले अनमिनको स्थापना गर्यो । यो शान्ति स्थापना नभइ राजनैतिक मिशन थियो जसको मुख्य काम विद्रोहीको निःशस्त्रीकरणको अनुगमन गर्नु र नयाँ संविधानसभाको निर्वाचन गराउन सघाउनु थियो ।

सद्भावको संकेतको रुपमा भारतले अनमिनलाई सहयोग गर्न कैयौं जीपहरु (टाटा गाडी र महिन्द्रा स्कोर्पियो) उपलब्ध गराएको थियो किनकि अनमिनलाई हतियार भण्डारण गर्नको लागि कन्टेनर ओसार्न यी गाडीको आवश्यकता थियो । अनमिनको कार्यकाल कैयौं पटक थप गरियो किनकि शान्ति स्थापना र राजनैतिक कार्यभार लिएका राष्ट्रसंघका अधिकारीहरुमा आफ्नो मिशन लम्ब्याउन नयाँ कारण खोज्ने प्रवृत्ति देखिएको थियो । यहाँसम्म कि उनीहरु देश संचालनका लागि पनि आफैं जिम्मेवार भएको ठान्थे ।

नेपालमा सबै पक्षले अनमिनले आफ्नो मिशनमा सफलता प्राप्त गरिसकेको विश्वस गरेपछि यो ‘रद्दी मिशन’लाई प्रतिबन्ध गरिएको थियो । र, २०१० मा नेपाल सरकारले अनमिन अन्त्य गर्नको लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष कडा अडान लियो । सुरक्षा परिषदले १५ मे २०१० देखि अनमिनलाई बन्द गर्न आदेश दिँदै एक प्रस्ताव पारित गर्यो । (यद्यपि अनमिनको काम १५ जनवरी २०११ मा मात्र बन्द भएको थियो ।)

आत्मसमर्पण गरिएका हतियार नेपाली सेनालाई हस्तान्तरण गरिनुपर्ने थियो तर यो कुरासँग अनमिन असन्तुष्ट भयो किनकि यो यथास्थितिको प्रतिनिधित्व गर्ने शक्तिको रुपमा देखिन्थ्यो । वास्तवमा म अनमिनको हेड अफ मिशनले मलाई २ पटकसम्म मलाई भेट्न आएको कुरा म सम्झन्छु जुन भेटमा उनी बारम्बार हतियारको अनुगमन गर्न नेपाली सेना अयोग्य भएको र नेपाली सेनाको आकार कटौती गर्नुपर्ने कुरामा जोड दिन्थिन् ।
यद्यपि नेपालमा अनमिनको समापन सुखद रहेन किनकि अनमिनकी हेड अफ मिशनले उनको रिपोर्टमा अनमिनले नेपाल छाडेपछि नेपालमा फेरि गृहयुद्ध सुरु हुन सक्ने, राष्ट्रपति शासन लागू हुन सक्ने र सैन्य विद्रोह हुन सक्ने सम्भावना उल्लेख गरेकी थिइन् । उनको यो डरलाग्दो पूर्वानुमानलाई नेपालका सबै राजनैतिक दलहरुले आलोचना गरेका थिए ।

२००९ र २०१० को समयमा नेपालको चासोमा अनमिनलाई अन्त्य गर्न भारत पनि विभिन्न महत्वपूर्ण सरकारहरुसँग सक्रिय थियो । हामी हाम्रो कार्यकालको पहिलो जिम्मेवारीको रुपमा अनमिनको समापन भएको देख्न पाउँदा खुसी थियौं । हिन्दूस्तान टाइम्सले यसलाई नेपालको महत्वपूर्ण विजयको रुपमा उल्लेख गरेको थियो ।

फेरि जीपहरुमा फर्किंदा

अनमिनको काम सकिएपछि संयुक्त राष्ट्रसंघ भारतीय जीपहरुलाई अफ्रिकामा अर्को राष्ट्रसंघीय मिशनका लागि लैजान चाहन्थ्यो । हामी प्रस्ट थियौंः यी नेपाली सेनालाई हस्तान्तरण गरिनुपर्छ ताकि उनीहरु विद्रोहीसँग ‘डील’लाई निरन्तरता दिन सकुन् र अनमिनको हतियार अनुगमनको कामलाई अगाडि बढाउन सकुन् ।

जनवरी २०११ को त्यो शनिबार मलाई आएको उपमहासचिवको त्यो फोन कल ती गाडीहरुलाई राष्ट्रसंघसँगै राख्ने अन्तिम प्रयास थियो । यतिसम्म कि उनले मलाई ‘उपहारहरु फिर्ता नलिने’ संसारको तरिकाबारे पाठ पढाउने पनि प्रयास गरे ।

केही वर्षपछि म नेपालको लागि भारतीय राजदूत नियुक्त भएँ । त्यतिबेला मेरो आश्चर्यका कल्पना गर्नुस् जब मैले अनमिनका गाडीहरु दूतावासको हाताभित्र भेटें । यी गाडीहरु अनमिनले २००८ मा निर्वाचन सम्पन्न भइसकेपछि आफूलाई आवश्यक पर्ने भन्दा बढी भएको भन्दै दूतावासलाई फिर्ता गरेको थियो तर त्यो समय मिशन अन्त्य हुनुभन्दा वर्षौं पहिले थियो । साँच्चै तिनीहरु संसारको तरिकाभन्दा धेरै बढी थिए !

(मार्च २००९ देखि डिसेम्बर २०१३ सम्म संयुक्त राष्ट्रसंघमा भारतीय सहायक स्थायी प्रतिनिधि रहेका पुरी मार्च २०१७ देखि जनवरी २०२० सम्म नेपालका लागि भारतीय राजदूत थिए)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *