दुर्लुङ्गमा डेढ महिनापहिले गएको पहिरोको आसपासका घर तत्काल स्थानान्तरण गर्न सुझाव

डिसी नेपाल
११ साउन २०७७ २०:३५

पर्वत । पर्वतको दुर्लुङ्गमा डेढ महिनापहिले गएको पहिराको आसपासका १० घरलाई तत्काल सुरक्षित स्थानमा स्तान्तरण गर्न भूगर्भविद्ले सिफारिस गरेका छन् । खानी तथा भूगर्भ विभागको टोलीले प्रतिवेदन सार्वजनिक गर्दै पहिरो गएको ठाउँ नजीक रहेका १० घर अत्यन्त जोखिमा रहेका कारण तत्काल स्थानान्तरण गर्न सिफारिस गरेको हो । गत जेठ ३१ गते राति गएको पहिरोमा परी पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ्गको ढकालबारीमा नौ जनाको ज्यान गएको थियो ।

भूगर्भविद्को टोलीले पहिरो जानुको कारण र त्यस क्षेत्रको जमीनको आगामी अवस्थाबारे प्रतिवेदन बुझाएको छ । “पहिरोको वर्तमान अवस्था र निकट भविष्यमा हुने वर्षालाई समेत आङ्कलन गरी पहिरो आसपासका १० घर तत्कालका लागि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ”, अध्ययनको नेतृत्व गरेका भूगर्वविद् शिवकुमार बाँस्कोटाले भने, “पहिरो बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इन्जिनीयरिङ पद्धति अवलम्बन गर्न सकिने पनि प्रस्ताव गरिएको छ ।”

अध्ययनले पहिरो जाँदाको दिन करीब ३ घण्टासम्म लगातार मुसलधारे वर्षाको कारण भिरालो जमीनमा पहिरो उत्पत्ति भई सतहको माटो र रूखबिरुवासमेत बगेको तथा केही तलको समथर स्थानमा छोटो समय थुनिएको थियो । एक्कासि पहिरो विस्फोट हुँदा तल्लो तटीय क्षेत्रको समथर भूभागमा रहेको बस्ती बगाएर ल्याएको गेग्रान थुप्रिई दुई घरमा क्षति पुग्नाका साथै आसपासका १० घर उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा काफलबोट÷काउलेका सात घर र खेत सहितको जमीन अस्थिर भई तलतिर बिस्तारै सर्ने क्रममा रहँदा घरहरु ढल्केको तथा चर्केको अवस्थामा पाइएकाले त्यो ठाउँको बस्तीलाई पनि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ ।

ढकालबारीदेखि नुवारखोलासम्म ठूलो भूभाग पनि लामो समयदेखि तलतिर सरेको पाइएको भूगर्भविद् बाँस्कोटाले बताए। उक्त स्थानमा रहेका घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र उक्त क्षेत्रभित्र रहेका पानीका मूलको व्यवस्थित निकास दिन पनि सुझाव दिइएको छ । सडक निर्माणका क्रममा जमीन काटिँदा, काटिएको माटो अव्यवस्थित तवरले फ्याकिँदा तथा साइड ड्रेन (नालीहरु) व्यवस्थित नहुँदा कोटगाउँ, गैराथोक र घोगेनी क्षेत्रका केही घरहरुमा जोखिम बढेको देखिएकाले त्यस्ता कार्यहरु गर्दा आवश्यक प्राविधिक अध्ययन तथा सर्वेक्षण गरी बस्ती सुरक्षित हुने हिसाबले गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।

भूगर्भविद्को रिपोर्टका आधारमा पहिराबाट पूर्ण क्षति भएका दुई तथा आसपासका १० घर, काफलबोट र काउलेका सात घर र ढकालबारीदेखि नुवारखोलासम्म रहेका घरहरु सुरक्षित स्थानमा सार्न शहरी विकास मन्त्रालयमार्फत काम हुनेछ । त्यसैगरी, पहिरालाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायोइन्जिनीयरिङको कामलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत थप अध्ययन गरी अघि बढाइने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *