रेडक्रस रक्तसञ्चार सेवाको ५५औँ वर्ष

डिसी नेपाल
१२ साउन २०७७ १३:३९

काठमाडौं । नेपाल रेडक्रसले आर्थिक वर्ष २०७६/७७ मा दुई लाख ३८ हजार ८३६ युनिट रगत सङ्कलन भई तीन लाख २१ हजार ७७६ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको छ । नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्र स्थापनाको ५४औँ वर्ष पूरा भएको अवसरमा सोमबार प्रकाशित प्रतिवेदनमार्फत यो जानकारी दिइएको हो। देशभरिमा विभिन्न सङ्घसंस्थाहरूबाट तीन हजार ४७८ घुम्ती रक्त सङ्कलन गरिएको छ भने केन्द्रीय रक्तसञ्चार सेवाबाट मात्रै ३९ हजार ७५५ युनिट रक्त सङ्कलन गरिएको रेडक्रसले जनाएको छ।

विसं २०२३ साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो। अहिले नेपालको ७३ जिल्लाका ११६ स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत रेडक्रसले सेवा सञ्चालन गरिरहेको छ । काठमाडौँको केन्द्रीय रक्तसञ्चार सेवालगायत विराटनगर, पोखरा, नेपालगञ्ज र चितवन गरी चार क्षेत्रीय रक्तसञ्चार सेवा २२ जिल्लास्तरीय एकाइ, ४७ जिल्लाका आकस्मिक रक्तसञ्चार सेवा र ३८ अस्पतालका रक्तसञ्चार सेवा एकाइबाट अहिले रक्तसञ्चार सेवा सञ्चालनमा छन्।

कोभिड–१९को महामारीको अवस्थामा सेवा स्थापना दिवस विभिन्न स्थानमा भीड नगरी फरक तरिकाले मनाइने कार्यक्रम रहेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। यस अवसरमा केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरिने उनले बताए।

यसैगरी, बकुलहर, रत्ननगर अस्पताल चितवनमा आजै आकस्मिक रक्तसञ्चार सेवा शुरु गर्न लागिएको छ । स्थापना दिवसका अवसरमा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा मनिता राजकर्णिकारले हाल विश्वभर फैलिएको कोभिड–१९ सङ्क्रमणले रक्तसञ्चार सेवा प्रभावित भए पनि रक्तदाता र रक्तसञ्चार सेवासँग सम्बद्ध सङ्घसंस्थाको सहयोगमा सङ्क्रमण जोखिम न्यूनीकरणमा ध्यान दिँदै सेवा प्रवाह गरिँदै आएको बताए।

आव ०७५÷७६ मा नेपालभर जम्मा दुई लाख ७१ हजार ९२२ युनिट रगत सङ्कलन भएकामा यस वर्ष कोभिड–१९ का कारणले केही प्रतिशत रक्तदाता घटे पनि महिला रक्तदाताको सङ्ख्या बढेको रेडक्रसको तथ्याङ्कले देखाएको छ । गत वर्ष कूल रक्तदाता महिलाको सङ्ख्या १६ दशमलव एक प्रतिशत रहेकामा यसपटक १७ दशमलव पाँच प्रतिशत पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *