तीन वटै सुरक्षा निकायमा बढ्दो कोराना संक्रमण, देशभर १८४ प्रहरी संक्रमित

डिसी नेपाल
१३ साउन २०७७ १२:००

काठमाडौं। तीन वटै सुरक्षा निकायमा कोरोना संक्रमण बढेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कार्यरत जवान तथा अधिकृतहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको छ। नेपाली सेनामा गत जेठ ३ गते धनुषामा २ जनामा कोरोना संक्रमण भएकोमा अहिलेसम्म ७९ जनामा संक्रमण भैसकेको छ।

नेपाली सेनाका नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार ७९ मध्ये ७१ जनालाई निको भएको छ। अन्यको उपचार राम्रो भइरहेको छ। अहिले ८ जना सक्रिय संक्रमित भएकामा सबैको अवस्था सामान्य रहेको पनि सहायक रथि पौडेलले जानकारी दिए। उनका अनुसार विभिन्न १२ वटा मिसनमा ५ हजारको संख्यामा नेपाली सेना भने कोही कसैलाई कोरोना संक्रमण नरहेको बताए।

सहायक रथी पौडेलका अनुसार लकडाउन देखिनै ब्यारेकभित्र सबैलाई कोरोना संक्रमण सम्बन्धी शिक्षा दिइएको कारणले नेपाली सेनामा संक्रमणको दर कम फैलिएको हो। ‘मास्क लगाउने र सामाजिक दूरी अपनाउने तीन तरिका अपनाइरहेकाले संक्रमित कम भएको र उपचार राम्रो भएकाले निको हुने बढेको छ’, उनले भने।

त्यसैगरी नेपाल प्रहरीमा संक्रमणको दर ह्वात्तै बढेको छ। काठमाडौ उपत्यकाका ४० प्रहरीसहित देशभर १८४ प्रहरीमा कोरोना संक्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमा १ डीएसपी, ६ इन्सपेक्टर, ८ सई, १२ असई, ५४ हवल्दार, ९९ प्रहरी जवान र ४ जना कार्यालय सहयोगी छन्।

काठमाडौं उपत्यकामा ४०, प्रदेश १ मा २७, प्रदेश २ मा ३४, गण्डकी प्रदेशमा २९,प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशका १२ प्रहरीमा संक्रमण देखिएको हो। संक्रमितमध्ये ९९ जना डिस्चार्ज भइसकेका छन्।

प्रदेश २ मा सबैभन्दा बढी ३४ जनालाई संक्रमण भएको प्रवक्ता निरजकुमार शाहीले बताए। संक्रमितमध्ये ९७ जनालाई निको भएको छ। स्याङ्जामा पछिल्लो पटक १८ जना संक्रमित भएका छन्। संक्रमित मध्ये फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने भएकाले प्रहरीलाई संक्रमण सरेको प्रहरीको भनाइ छ।

उनले ४५ हजार नेपाल प्रहरी हरेक दिन फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने भएकाले समाजबाटै सर्ने यो रोगबाट प्रहरी पनि पीडित बनेको पनि बताए। ‘नेपाल प्रहरी फ्रन्टलाईन सुरक्षा संगठन हो जसले गर्दा जनतासँग प्रत्यक्ष जोडिने गरेका कारण संक्रमणको दर बढेको हो’, प्रवक्ता शाहीले भने।

त्यस्तै सशस्त्र प्रहरीका पनि संक्रमणको दर बढिरहेको छ। झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीका अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। पूर्वी सीमा काँकरभिट्टामा कार्यरत अधिकांश सशस्त्र प्रहरीका अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

गत जेठमा भीम रावलका सुरक्षा गार्ड र नेपाल भारत सीमा क्षेत्रमा खटिएका सुनसरीका एक जवानलाई पनि कोरोना संक्रमण भएको थियो। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले अन्य सुरक्षा निकायको तुलनामा सशस्त्र प्रहरीमा कम संक्रमण रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *