कोरोनाभाइरसको नाममा सरकारलाई नै ठगी ! झुक्याएर साढे ४६ करोड लिएर मोजमस्ती
काठमाडौं। कोरोनाभाइरसका कारण लाखौंले रोजगारी गुमाएका छन् । उनीहरुलाई दैनिक आवश्यकता पूरा गर्न पनि कठिन भएको छ । व्यवसाय ठप्प हुँदा खर्बौं नोक्सानी भएको छ । विश्वका सबैजसो देशहरुको आर्थिक वृद्धिदर ओरालो लागेको छ । भाइरसले विश्वभरीका मानिसहरुलाई आर्थिक रुपमा संकटग्रस्त बनाएका बेला अमेरिकाको फ्लोरिडाका एक व्यक्तिले भने सरकारलाई नै करोडौं ठगेर मोजमस्ती गरेको खुलेको छ ।
न्यूयोर्क पोस्टको समाचार अनुसार ती व्यक्तिले झण्डै ४ मिलियन अमेरिकी डलर सरकारलाई ठगेर मोजमस्ती गरेको पाइएको छ । सोमबार अधिकारीहरुले दिएको जानकारीअनुसार उनले यो रकम बिलासी लेम्बोर्गिनी कार, अन्य विलासिताका वस्तु तथा सेवा खरिदमा खर्च गरेको पाइएको छ । डेभिड टी हाइनेस नामका ती व्यक्तिलाई बैंक फ्रडको अभियोग लगाइएको छ । उनले वित्तिय संस्थाहरुमा गलत बयान दिएको र गैरकानुनी तरिकाबाट रकम निकालेर दुरुपयोग गरेको आरोप लगाइएको छ ।
मियामीका २९ वर्षीय हाइनेसले कोरोनाभाइरस रिलिफ फण्डका विभिन्न सुविधा मध्ये सुरुमा पेमेन्ट प्रोटेक्सन प्रोग्राम अन्तर्गत विभिन्न कम्पनीको तर्फबाट कर्मचारीलाई तलब दिनको लागि रकम आवश्यक परेको भन्दै निवेदन दिएर १३.५ मिलियन डलर ठग्ने प्रयास गरेका थिए । ‘ती काल्पनिक कर्मचारीहरु या त अस्तित्वमै थिएनन् या उनीहरुले हाइनेसले दावी गरेको रकमको सानो अंश मात्र प्राप्त गरे’ हाइनेसविरुद्ध दर्ता गरिएको एफिडेभिटमा भनिएको छ ।
हाइनेसले विभिन्न शीर्षकमा गरी १३.५ मिलियन डलर ऋण माग गरेकोमा बैंकले ३ शीर्षकका ऋण स्वीकृत गरिदिएको थियो । जसको कूल राशी ३.९ मिलियन डलर थियो । पैसा हात पारेको केही दिनमै हाइनेसले २०२० लम्बोर्गिनी हराक्यान कार किने जसको बजार मूल्य ३ लाख १८ हजार डलर (३ करोड ८० लाख नेपाली रुपैयाँ) पर्छ । उनले हजारौं डलर डेटिङ वेबसाइट, गहना र कपडा किन्न तथा मियामी बीचका विलासी होटलमा बस्न पनि खर्च गरे ।
हाइनेसले किनेको बिलासी कारले जुलाइ ११ मा मानिसलाई हानेपछि घटनाको अनुसन्धान गर्ने क्रममा उनको ठगीको खुलासा भएको थियो । मियामी पुलिसले कारलाई नियन्त्रणमा लिएको थियो जसलाई अब सील गर्ने तयारी भइरहेको छ । घटनापछि हाइनेसको खबता जाँच गर्दा उनको खातामा ३४ लाख ६३ हजार १६२ डलर थियो तर बैंकको ऋणको एक किस्ता पनि तिरेको रेकर्ड थिएन ।
शुक्रबार पक्राउ परेका हाइनेसलाई सोमबार पहिलो सुनुवाइपछि न्यायाधीश जोन ओसुलिभानको इजलासले १ लाख डलर धरौटीमा छाडिदिएको छ । उनी जिपिएस निगरानीमा आफ्नी आमाको घरमा बस्न पाउनेछन् । उनको अर्को सुनुवाइ अक्टोबर १४ का लागि तोकिएको छ ।
Facebook Comment