विश्व बाघ दिवस : नेपालको बाघ संरक्षणमा आशलाग्दो उपलब्धि

डिसी नेपाल
१४ साउन २०७७ १२:१३

काठमाडाैं। यस वर्षको विश्व बाघ दिवस कोभिड–१९ सङ्क्रमणका कारण नेपालमा आज सामान्यरुपमा मनाइँदै छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा सरोकारवाला सीमित व्यक्तिको सहभागितामा केन्द्रीय कार्यक्रम बबरमहलमा आयोजना गरेको छ। यसबाहेक बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गर्न लागेको विभागले जनाएको छ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो। नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ।

नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणना अनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पु-याउने प्रतिबद्धता गरेको थियो। जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए। यस गणनाका क्रममा क्यामेरामा देखिएका बाघका बच्चाको सङ्ख्या नसमेटिएकाले सन् २०२२ मा नेपालको लक्ष्य पूरा हुने निश्चित देखिएको उनले दाबी गरे।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो। नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ। नेपालमा बाघ संरक्षणमा देखिएको सफलता र यसको सङ्ख्यामा भएको वृद्धिलाई विश्व समुदाय नै प्रशंसा गरेको छ।

नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ। बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ। संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ।

मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पु¥याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ तर बाघको चोरी शिकारी, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, वन अतिक्रमणसँगै बासस्थान र आहारामा देखिएका कमीले बाघ संरक्षणमा चुनौती पनि कायमै छ।

विश्वभर बाघको सङ्ख्या तीन हजार ८९० रहेको छ। सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा बाघको सङ्ख्या दुई छ। इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यान्मा, रसिया र लाओसमा पाटेबाघ पाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *