काेराेना कहर : समाजको व्यवहारले दुःखी छन् विदेशबाट फर्केकाहरु

डिसी नेपाल
१५ साउन २०७७ ८:५६

काठमाडौं। कोरोनाका कारण विश्व नै त्रसित छ। विशेषतः नेपालबाट विभिन्न कामको शिलशिलामा विदेश गएकाहरु यसको प्रत्यक्ष समस्या व्यहोरी रहेका छन्।

एकातर्फ विदेशमा रोजगारीको सुनिश्चितता छैन भने अर्कोतर्फ नेपाल आएकाहरु समाजिक अवहेलनाको शिकार भइरहेका छन्।

विदेशबाट फर्किएको लामो समय भइसक्दा पनि समाजमा छिछि र दुरदुरको व्यवहार भएको उनीहरुको गुनासो छ। उनीहरुमात्र नभएर परिवारलाई समेत त्यस्तै व्यवहार हुन थालेको उनीहरुले गुनासो गर्दै आएका छन्।

लकडाउनको समयमा सरकारले विदेशबाट उद्धार गरी ल्याएका श्रीमानको अनुहार समेत नदेखेकी मकवानपुरकी पार्वती गुरुङले श्रीमान विदेशबाट आएकै कारण समाजले कोरोना लागेको जस्तो व्यवहार गर्ने गरेको बताइन्। उनले भनिन्, ‘श्रीमान विदेशवाट आइपुग्नु भएको भन्ने सुनेको मात्र हो। यता कोठामा बस्ने अन्य छिमेकीले तिम्रो श्रीमान विदेशबाट आएको छन, हाम्रोतिर नआउनु भने।’

सरकारले विदेशबाट ल्याएका नागरिकलाई क्वारेन्टाइनमा राखेको थियो। श्रीमान क्वारेन्टाइनमा बस्दा श्रीमतीलाई समाजले अवहेलना गर्ने गरेको उनको गुनासो छ।उनले भनिन्, ‘आफन्तको कोठामा गएको त्यहाँ पनी त्यस्तै व्यवहार गरे। संघीय राजधानी जस्तो ठाउँमा त यस्तो व्यवहार हुन्छ भने बाहिर कस्तो होला?

सरकारले कोरोना भाइरसको संक्रमण र जोखिम न्यूनिकरणका लागि लागु गरेको लकडाउन सुरु हुनुभन्दा पहिला नै भारतबाट आएका नुवाकोटका मोहन वस्तीको पनि उस्तै गुनासो रहेको छ। ‘म भारतबाट फर्किँदा नेपालमा लकडाउन पनि भएको थिएन,’ उनले भने, ‘कोरोनाका संक्रमित पनि एकदमै थोरै देखिएका थिए। मलाइ देखेपछि कोरोना नै आएको जस्तो व्यवहार गर्ने छिमेकीको आजसम्म पनि उस्तै छ।’

नेपालमा आएका साथीहरुले भोग्नु परेको व्यवहारका कारण विदेशमा हुनेहरु नेपाल फर्किन मन गर्दैैनन्। बरु जस्तो सुकै समस्या भए पनि विदेशमै बस्ने निधो गरेको उनीहरु बताउँछन्।

स्वदेश फर्केका साथिहरुको गुनासो सुनेर विदेशबाट फर्किने रहर पनि मर्दै गएको बताउछन् राजु। दुबइको फाइभस्टार होटलमा सेक्यूरिटीको काम गर्ने राजु (पूरा नाम नखुलाइएको) भन्छन्, ‘स्वदेश फर्किसकेका साथीहरुको गुनासो सुनेर विदेशमा अप्ठेरो भएर पनि स्वदेश फर्कने रहर मरेर आउँछ। विपद्को समयमा साथीहरु स्वदेश फर्किए। गाँउघरमा नराम्रो व्यवहार भयो भनेर दुखेसो गर्छन। समाज अशिक्षित छ, क्वारेनटाइन बसेर मेडिकल रिपोर्ट देखाउँदा सम्म अपहेलना गर्छन रे अनि कसरी फर्किन मन लाग्छ मलाइ।’

वैदेशिक रोजगारको लागि मलेसिया पुगेकी रुपा नेपालको पनि स्वदेश फर्कने रहर मरेको छ। ‘मेडिकल रिपोर्ट पेश गर्दा समेत विदेशबाट फर्किएकालाई गरिने व्यवहारहरु सामाजिक सञ्जाल र सञ्चार माध्याममा हेरेर अघाएकी छु’ उनले भनिन्।

कोरोना महामारी नेपालमा फैलनु भन्दा अगाडि चीनबाट फर्किएका एक विद्यार्थीले मेडिकल रिपोर्ट बोकेर हिँड्दा पनि समाजले विस्वास नगरेकाले हैरानी व्यहोर्नु परेको भन्दै मिडियामा दुखेसो पोखेका थिए।

मनोविश्लेषक बासु आचार्य जनचेतानको अभावले समाजमा कोरोनाको त्रास फैलिएको बताउँछन्। कतिपय अवस्थामा त सामान्य खोकी लाग्दामात्रै पनि समाजले कोरोना लागेको दृष्टिकोणले हेर्ने गरेका कारण मानसिक समस्या सृजना भएको उनको बुझाइ छ।

‘संक्रमित नहुँदै त घृणाको दृष्टिकोणले हेरिन्छ भने कोरोना लाग्यो के होला?,’ उनले भने, ‘सामाजिक दूरी कायम राख्दै संक्रमितलाई हौसला प्रदान गर्नुपर्छ। यसका लागि जनप्रतिनिधि, संचारमाध्यमले सशक्त भूमिका निर्वाह गर्नुपर्छ।’ विशेषगरी गाउँघरमा कोरोनाको बढी त्रास भएको र जनचेतनाको अभावले संक्रमितलाई घृणा गर्ने गरिएको घटना बढी रहेको मनोविश्लेषक आचार्यले जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *