नेपाल–चीन सम्बन्धबारे भारतीय मिडियामा आपत्तिजनक रिपोर्ट छ्याप्छ्याप्ती !
काठमाडौं। सबै छिमेकीहरुसँग सम्बन्ध बिग्रिएको भारतले नेपाल–चीन सम्बन्ध बलियो हुँदै जाँदा यसलाई भाँड्न मिडियाबाजी सुरु गरेको छ । भारतको सत्ताधारी पार्टी भारतीय जनता पार्टी निकट मिडियाहरुले नेपालका बारेमा आपत्तिजनक रिपोर्ट प्रकाशित गर्न सुरु गरेका छन् । आज मात्रै भाजपानिकट केही मिडियाले नेपालबारे आपजिनक रिपोर्ट प्रकाशित गरेका छन् ।
आज भाजपा निकट मानिने अखबार नवभारत टाइम्सले नेपाली सेना पाकिस्तानी सेनाको बाटोमा अघि बढिरहेको र व्यापारमा लगानी गरेर कर्पोरेट सेना बन्न खोजेको रिपोर्ट प्रकाशित गरेको थियो । नेपाली सेनालाई बदनाम गराउने नियतका साथ लेखिएको रिपोर्टमा सेनाको कदमको नेपालभित्रै ठूलो परिमाणमा विरोध भइरहेको लेखिएको थियो ।
आजै इण्डिया टिभीले नेपालले संयुक्त राष्ट्रसंघमा पठाउन लागेको नयाँ नक्साको बारेमा पनि भ्रमपूर्ण समाचार प्रकाशित गरेको छ । उसले रिपोर्टमा नेपालले नक्सा पठाए पनि संयुक्त राष्ट्रसंघले स्वीकार नगर्ने उल्लेख गरेको थियो । संयुक्त राष्ट्रसंघले आफूले प्रयोग गर्ने नक्सा आफैंले छाप्ने भएकोले नेपालले पठाएको नक्सा स्वीकार गर्दैन तर उसले आफैंले छाप्ने नक्सा पनि उसको आधिकारिक मान्यता होइन । उसले नक्सा प्रकाशित गर्दा त्यसमा प्रयुक्त सबै कुराले संयुक्त राष्ट्रसंघको समर्थन र स्वीकार्यताको संकेत नगर्ने सूचना समेत राखेर प्रकाशित गरेको हुन्छ । यो तथ्यलाई भ्रमपूर्ण बनाएर इण्डिया टिभीसँगै इण्डिया डटकमले पनि सोही कोणबाट समाचार लेखेको छ ।
पछिल्लो पटक सरकारनिकट मानिने अर्को मिडिया आज तकले पनि चीनले नेपाल जोड्ने रेलमार्गको सर्वेक्षण सुरु गरेकोबारे अतिरञ्जित र आपत्तिजनक रिपोर्ट प्रकाशित गरेको छ । ३०० मिलियन डलरको लागतमा बन्ने यो रेलमार्गलाई आज तकले चीनले विकासको आडमा युद्धनीति अगाडि बढाएको भनेको छ । वर्षौंदेखि थन्किएको यो परियोजना भारतसँग सम्बन्ध बिग्रिएपछि भारतविरुद्ध प्रयोग गर्नका लागि चीनले अगाडि बढाएको रिपोर्टमा दावी गरिएको छ । उसले चीनले प्रधानमन्त्री ओलीको कुर्सी बचाइदिएको बदलामा ओलीले चीनको पक्षमा काम गरेको समेत आरोप लगाएको छ ।
Facebook Comment