पौडेलले भेटे इनफ इज इनफका अनशनरत अभियान्तालाई
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनशनमा बसेका इनफ इज इनफ अभियानका अभियान्ता ‘ई’ सँग भेट गरेका छन्।
पार्टीका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूका साथ सत्याग्रह स्थल बसन्तपुर पुगेर आइतबार दिउँसो वरिष्ठ नेता पौडेलले ‘ई’ सँग भेट गरेका हुन्। भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पूर्ण समस्याको जड भ्रष्टाचार भएको बताए। उनले पार्टी नेकपा नेतृत्वको सरकारले जनताको स्वास्थ्यसंग खेलवाड गरेको भन्दै सरकारको हेलचेक्राई विरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानका आफू र आफ्नो पार्टीको साथ रहेको बताए।
नेता पौडेलले सरकारलाई अटेरी सरकारको संज्ञा दिए। उनले पीसीआरको दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै अभियन्ताहरु अनशन बस्नु दुर्भाग्यपूर्ण भएको पनि बताए। पौडेलले भने, ‘जनताको स्वास्थ्यसंग जोडिएको सामान्य विषयमा अनसन बस्दा पनि नसुन्ने भनेको सरकार साच्चै नै अटेरी सरकार हो। पीसीआरको दायरा बढाउ, क्वारेन्टाइन व्यवस्थित होस भनेको छ। अति नै समान्य र अति नै आवश्यक मागहरु लिएर उहाँहरु अनशन बस्नु नै दुर्भाग्यपूर्ण कुरा हो।’
उनले अनशनकारीको माग सम्बोधनका लागि राज्यले ध्यान नदिएर सरकारले गरिरहेको बेवास्ताप्रति आपत्ति जनाए। पौडेलले १६–१६ दिनसम्म अनशन बस्दा पनि माग सम्बोधन नगर्नु सरकारको चरम लापरवाही भएको बताए। अभियन्ता ‘ई’ विगत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बसेका छन्। यसअघि उनी पहिलो पटक ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए।
Facebook Comment