पाँच दिनपछि बल्ल पेट भरियो

डिसी नेपाल
१९ साउन २०७७ ८:४६

टीकापुर । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ। अविरल वर्षापछि यही साउन १४ गते आएको बाढीमा परी मृत्यु भएका तीन जनाका परिवारलाई २५÷२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले जानकारी दिइन्।

बाढीमा मृत्यु भएका भजनी–८ जनकपुरका एजिकल चौधरी, काँढाढिकका ईश्वर शाह र चक्र विकका परिवारलाई सहयोग प्रदान गरिएको हो । उनले भनिन्, “रकमसँगै आवश्यक खाद्यान्न र लत्ताकपडासमेत उपलब्ध गराएका छौँ, सरकार दुःखमा पनि साथमा छ भन्ने आभाष दिलाउन सहयोग गरेका हौँ ।” उपप्रमुख देवकोटाले नगरपालिकाले बाढी पीडितलाई सहयोग उपलब्ध गराउन संघीय सरकार र प्रदेश सरकारसँग समेत थप सहयोग माग गरेको जानकारी दिइन्।

पाँच दिनपछि खाना

बाढीले विस्थापित भजनीका पीडितले पाँच दिनपछि आइतबार खाना पाएका छन्। विस्थापितलाई सडकमै सामूहिक मेस सञ्चालन गरिएपछि पेटभरि खाना खाएका पीडित खेमराज पाण्डेले बताए। भजनी–८ को सोनाफाँटामा सामूहिक मेस सञ्चालन भएपछि ५०० ले खाना खाएका छन्। ईश्वर प्रेमी सेवा आश्रम जानकी गाउँपालिकाले बाढी पीडितको भोक मेटाउन पथरैया पुलमा सामूहिक मेस सञ्चालन गरेको हो। “पाँच दिनपछि दालभात खान पाइयो, बल्ल पेट भरियो”, पीडित सुन्ता विकले भनिन्, “जति आए चिउरा र चाउचाउ दिए, दालभात पनि खान पाइयो, पेट भरियो ।”

भजनी–८ कै सुरवी चौधरीको चार वर्षको छोराले पनि पेटभरि दालभात खाएको छ । “आमा भात खाने भनी सताउँथ्यो, बच्चाले अन्य खानेकुरा खाएर चित्त बुझाएकै थिएन”, सुरवीले भनिन्, “आज बच्चाले धित मारेर खाएको देख्दा झन पीडा भएको छ । हाम्रो जिन्दगी यस्तो भोक र त्रासमा सडकमा बास भएको छ ।” ईश्वरप्रेमी सेवा आश्रमका पिठाधीश ईश्वर चैतन्य महाराजले यस्तो विपत्तिमा भोक मेट्ने अधिकार सबैलाई छ भनी आश्रमले सकेको सहयोग गरेको बताए।

भजनी नगरपालिकाले पनि पीडितलाई राहत वितरण शुरु गरेको छ । भजनी–३ ले राहत सामग्री वितरण थालेको छ । वडाले मन्त्रीफाँटा, सिमलटारी, नयाँबस्ती, डेली चितवन र बर्दुवाफाटामा गरी १२० परिवारलाई राहत बाँडिएको वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिए। उनले बाढी पीडितलाई त्रिपाल, चाउचाउ, भुजा, बिस्कुट, पानी, एक्वागार्डजस्ता अत्यावश्यक सामग्री वितरण गर्न थालेको बताए।

नगरपालिकाले ८ नं वडामा पनि राहत सामग्री वितरण शुरु गरेको छ । वडाको खैरागाउँका २६४ परिवारलाई त्रिपाल, चाउचाउ, भुजा, बिस्कुट र पानी वितरण गरिएको वडाध्यक्ष पङ्कज चौधरीले जानकारी दिए। “सडकमा बसेकालाई राहतमा खाद्यान्न दिन कठिन छ, उनीहरु घर फर्किएपछि राहत दिइनेछ”, उनले भने, “अहिले अत्यावश्यक सामान दिन थालेका छौँ । अझै विस्थापित घर फर्कने वातावरण छैन ।”रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *