विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख नजिक
काठमाडौं। कोरोना भाइरसबाट विश्वभर हालसम्म १ करोड ८४ लाख ८० हजार ६४६ जना संक्रमित भएका छन्। तीमध्ये १ करोड १७ लाख ६ हजार ४३९ जना उपचारपछि निको भएका छन् भने ६ लाख ९८ हजार २५७ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार इरानमा प्रत्येक सात मिनेटमा एक जनाले कोरोनाकारण ज्यान गुमाइरहेका छन्। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१५ जनाको मृत्यु भएको छ।
इरानमा सामाजिक दूरी कायम नभएको भन्दै स्थिति भयावह हुने चेतावनी दिइएको छ। मानिसहरु राजधानी तेहरानको सडकमा विना मास्क हिँडिरहेका दृष्य देखिएका छन्। इरानमा हालसम्म १७ हजार भन्दा धेरैको कोरोनाका कारण मृत्यु भएको छ। इरानमा तीन लाख भन्दा धेरै संक्रमित पुगेका छन्।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति दिएको एक अन्तर्वार्तामा अमेरिकामा कोरोना भाइरस नियन्त्रण उम्मुख रहेको दाबी गरेका छन्। उनले युरोपका अन्य देशको तुलनामा अमेरिकामा स्थिति राम्रो रहेको दाबी गरेका हुन्। उनले एक हप्ताको आँकडा प्रस्तुत गर्दै संक्रमितको संख्यामा कमी आएको बताएका हुन्।
उता ब्राजीलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ५६१ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ९४ हजार ६६५ पुगेको छ। सोमबार एकै दिनमा १६ हजार ६४१ जना नयाँ संक्रमित थपिएका थिए। ब्राजीलमा कुल संक्रमितको संख्या बढेर २ लाख ७५ हजार ३१८ पुगेको छ।
ब्राजील ल्याटिन अमेरिकी मुलुकमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो। ब्राजीलको साओ पाउलो सबैभन्दा धेरै प्रभावित भएको छ। यहाँ पाँच लाख ५० हजार मानिस संक्रमित भएका छन्।
Facebook Comment