बाँदर र न्याउरी मुसाले पुलको उपयोग गर्दै

डिसी नेपाल
२१ साउन २०७७ १३:२१

बाँके । बाँके राष्ट्रिय निकुञ्जले नेपालमा पहिलोपटक जङ्गली जनावरका लागि निर्माण गरेको पुल सञ्चालनमा ल्याइएको छ। बाँदर र न्याउरी मुसोले आफ्ना लागि बनाएको पुलको उपयोग गर्दै आएको निकुञ्जले बताएको छ।

निकुञ्जमा जनावरले राजमार्ग वारपार गर्दा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने राजमार्गमा पुल प्रयोगमा ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले बताए। बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग ७२ किलोमिटर लामो छ। त्यस्तै कोहलपुरदेखि बबईसम्मको राजमार्गको लम्बाइ ३० किलोमिटर छ ।

उनले भने, ‘‘निकुञ्जमा प्रयोगात्मक रूपमा छ वटा यस्ता पुल बनाइएको छ । बाँदर प्रजातिका जनावरलाई लक्षित गरेर निर्माण गरिएको पुलको प्रयोग लोखर्के, बाँदर र न्याउरी मुसोलगायतका जनावरले प्रयोग गरिरहेका छन् । यसले गर्दा सवारी दुर्घटना र जीवजन्तु सवारीमा परेर मर्ने क्रम रोकिएको छ।’’

यस निकुञ्जमा राजमार्गको दूरी लामो भएको र सवारी साधनको चाप बढ्दै गएका कारण जनावरका लागि पुल निर्माण गरिएको बताइएको छ । निकुञ्ज आसपासमा क्यामरासहित पाँच स्थानमा छ वटा पुल राखिएको निकुञ्जले जनाएको छ।

निकुञ्जका अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा २६४ जनावरको मृत्यु भएको छ । गत वर्ष दुर्घटनाको जोखिममा परेका ४३१ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ । खाद्यान्न ढुवानी गर्ने सवारीबाट खसेका वस्तु र यात्रुले जथाभावी फ्याँकेका खानेकुरा खान जाँदा केही जनावर गाडीको ठक्करले मारिएको निकुञ्ज अधिकृत न्यौपानेले बताए।

पुल निर्माणपछि यस वर्ष भने सवारी दुर्घटनाबाट मारिने वन्यजन्तुको सङ्ख्यामा कमी आएको बताउँदै उनले भने, ‘‘यस वर्षमा पाँच वटा स्याल, तीन वटा चित्तल, तीन वटा गिलहरी, दुई वटा बाँदर, तीन/तीन वटा सरीसृप र हरिणलगायतका जङ्गली जनावर दुर्घटनामा मारिएका थिए।

निकुञ्जले यसलाई परीक्षणको रुपमा लिएको बताउँदै ‘‘छ महिनासम्म यसको अनुगमन गरिने त्यसको आधारमा थप पुल निर्माण गर्न सकिनेछ’’, उनले भने। उनका अनुसार बाँदरले प्रयोग गरेको देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *