अत्यावश्यक काम बाहेक सिंहदरवार प्रवेशमा रोक

डिसी नेपाल
२१ साउन २०७७ १३:४३

काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ। अत्यावश्यक काम बाहेकका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले डिसी नेपाललाई जानकारी दिए।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गरेको अर्को दिनदेखि सिंहदरवारमा जथाभावि प्रवेशमा रोक लगाइएको हो।

प्रवक्ता बुढाका अनुसार अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा रोक लगाइएको हैन्। सामान्यरुपमा भेटघाट, गफगाफका लागि जाने र सुरक्षाका मापदण्डहरु प्रयोग नगरी जानेका लागि रोक लगाइएको हो।

‘जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको हो’ प्रवक्ता बुढाले भने। भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको बुढाले जानकारी दिए।

अवस्था जटिल भएकाले नागरिक आफैले सुरक्षाका उपाएहरु नअपनाएमा पुनः लकडाउनको तयारी गरिरहेको सरकारले सिंहदरवारमा रोक लगाएर नागरिकलाई अझै कोरोनाको कहर साम्य भइनसकेको संकेत दिएको छ।

‘अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत आग्रह गरिएको छ,’ प्रवक्ता बुढाले भने। प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको उनले प्रष्ट पारे। पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । मङ्गलबार मात्रै उपत्यकामा ६२ जनामा कोभिड–१९ देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *