सूर्य थापाले गराए प्रचण्डलाई धोवीघाट भेलाको स्मरण

डिसी नेपाल
२२ साउन २०७७ ९:२४

काठमाडौं। बुधबार आफू निकट पत्रकारलाई बोलाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्रको विवाद पदका लागि नभई विधि र पद्धतिको भएको बताएको भोलि पल्ट नेकपा प्रचार विभागका उपप्रमुख समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दश वर्ष अघिको धोवीघाट भेलाको स्मरण गराएका छन्।

थापाले बिहीबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै दश वर्ष अघिको धोबीघाट भेलाको स्मरण गराएका हुन्। थापाले लेखेका छन्, ‘१० बर्षअघि साउन यही बेला धोवीघाट गठबन्धनको परिणति आकांक्षा र बाँडफाँट संसदीय दलको नेता– बाबुराम भट्टराई, जनसेना इन्चार्ज–रामबहादुर थापा ‘बादल’, संगठन विभाग प्रमुख–मोहन वैद्य ‘किरण’, उपप्रधानमन्त्री तथा गृहमन्त्री–नारायणकाजी श्रेष्ठ, पार्टी अध्यक्ष तथा संसदीय दलको नेताबाट पुष्पकमल दाहाल प्रचण्डलाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र बिप्लवको मोर्चाबन्दी।’

थापाले धोबीघाट भेलापछि माओवादी धारको एक दर्जन समूहका विभाजन र विघटन भएको उल्लेख गरेका छन्। धोबीघाट भेलाको दश वर्षपछि साउनको बेलामा खुमलटार गठबन्धनको रिहर्सल भएको थापाको भनाइ छ।

थापाले खुमलटार गठबन्धनको आकांक्षा र बाँडफाँट भन्दै लेखेका छन्, ‘राष्ट्रपति–झलनाथ खनाल, प्रधानमन्त्री–पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष–माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री– नारायणकाजी श्रेष्ठ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी।’

थापाले अगाडि लेखेका छन्, ‘पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्धति र एकताको लडाईँ रे? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल। नेकपा विभाजन र समाप्त पार्ने कसरत। देशीविदेशी षडयन्त्र र चलखेल। ग्याङ अफ फोरको पत्रकार भेघाटपछिको परिदृश्य???’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *