लेबनान विस्फोटबारे राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानको राजधानीमा भएको भयानक विस्फोटप्रति दुःख व्यक्त गरेकी छन्। बिहीबार लेबनानी समकक्षी माइकल अयोनलाई समवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले समवेदना प्रकट गरेकी छन्। सन्देशमा राष्ट्रपति भण्डारीले मृतकप्रति श्रद्धाञ्जलि प्रकट गरेकी छन्। उनले घाइतेहरुको शिर्घ स्वास्थ्य लाभको कामनासमेत गरेकी छन्।
राष्ट्रपति भण्डारीले विस्फोटपछि त्यहाँको सरकारले गरिरहेको राहत तथा उद्धार कार्यको प्रशंसा गर्दै छिटै त्यहाँको अवस्था सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरेकी छन्।
मंगलबार भएको विस्फोटमा परी बेरुतमा १०० भन्दा धेरैको मृत्यु भएको छ भने ४ हजारभन्दा धेरै घाइते भएका छन्। करोडौंको सम्पत्ति पनि नष्ट भएको छ।
बेरुतको तटीय क्षेत्रमा भण्डारण गरिएको अमोनियम नाइट्रेटमा आगलागी हुँदा भयानक विस्फोट भएको थियो। सो घटनापछि लेबनानमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको थियो।
Facebook Comment