नक्कली सुन प्रकरणः प्रहरीलाई उन्मुक्ति दिने गरी प्रतिवेदन तयार

डिसी नेपाल
२३ साउन २०७७ ११:२०

काठमाडौं। महानगरीय प्रहरी दरवारमार्ग वृत्तले बरामद गरेको नक्कली सुन काण्डमा संलग्न प्रहरी अधिकारी र कमजोर कमाण्ड गर्ने प्रहरीलाई जोगाउने गरी छानवीन समितिले प्रतिवेदन बुझाएको छ।

अन्तर्राष्ट्रिय अन्डरवल्र्ड दाउद समूहसँग जोडिएका यूनुस अन्सारी तथा इल्ताफ हुसेन समेत जोडिएको सो नक्कली सुन प्रकरणको सम्बन्धमा प्रहरीको भूमिकाबारे अनुसन्धान गर्न बनेको छानवीन समितिले बिहीबार साँझ त्यसमा शंकास्पद भूमिकामा रहेका प्रहरी अधिकारीलाई समेत कारवाहीको सिफारिस नगरी प्रतिवेदन बुझाइएको हो।

१५ किलो चाँदीमा आधा किलो सुनको लेपन लगाएर तस्करी गर्न खोज्ने तस्करलाई भेटेर पनि प्रहरीले नक्कली सुनमात्रै हात पारेर सुन तस्करीमा संलग्न रहेका व्यक्ति गाडी दुवैलाई छाडेपछि प्रहरीको भूमिका शंकास्पद रहेको थियो। तर पनि छानवीन समितिले उनीहरुको शंकास्पद भूमिकालाई पनि विभागीय कारवाहीको जरुरी देखेन।

दरवारमार्ग वृत्तमा कार्यरत डिएसपी रञ्जनकुमार दाहालले आफू मातहत रहेका जुनियर एक जना मात्रै प्रहरी कर्मचारीको विश्वास गर्नु, त्यो विश्वासमा पनि कमजोर कमाण्ड, गर्नु, नक्कली सुन लिएर आउने प्रहरीसँगै भ्यानमा पुगेका डिएसपी पनि सुन्धराबाट गाडी मोडेर फर्कनु, सुन तस्कर चढेको गाडी फरार भएको तथ्य सेट मार्फत आधाघण्टापछि ट्राफिक प्रहरीलाई खबर गर्नुजस्ता कमजोरीलाई पनि छानवीन समितिले सामान्य रुपमा लिएर उनीहरुलाई विभागीय कारवाही समेत गर्न सिफारिस गरेको छैन।

सो प्रकरणमा संलग्न दुई प्रहरी कर्मचारी निलम्बनमा परिसकेको र दरबारमार्गका तत्कालीन डीएसपी दाहालको काज सरुवा भइसकेको भन्दै कारवाहीको आवश्यकता नभएको उल्लेख गरेपछि छानवीन समिति वा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलनै कसैको दबाबमा परेर त्यस्तो प्रतिवेदन तयार भएको हो कि भन्ने शंका समेत उत्पन्न गराएको छ।

१५ किलो चाँदीमा आधा किलो सुनको लेपन लगाएर तस्करी गर्न खोज्ने तस्करलाई भेटेर पनि प्रहरीले नक्कली सुनमात्रै हात पारेर सुन तस्करीमा संलग्न रहेका व्यक्ति गाडी दुवैलाई छाडेपछि प्रहरीको भूमिका शंकास्पद रहेको थियो। तर पनि छानवीन समितिले उनीहरुको शंकास्पद भूमिकालाई पनि विभागीय कारवाहीको जरुरी देखेन।

‘हामीले प्रहरीको गल्ती कमजोरी औंल्याएका छौं डिएसपीको काज सरुवा भएको छ, दुई प्रहरी निलम्बनमा छन् उनीहरु पक्राउ पनि परिसके यसबारे अदालतले नै निर्णय गर्नेछ’, छानवीन समितिका एक सदस्यले भने। उनका अनुसार यसबारेमा अन्य विषयहरु पनि उठेका छानवीन समितिले प्रहरीको क्षेत्राधिकारको बारेमा र माथिल्लो निकायलाई समयमै रिपाेर्ट नगर्नु कमजोरी भएको देखाइएको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने प्रतिवेदन तयार भैसकेको बताए। उनका अनुसार प्रहरी महानिरीक्षकलाई बुझाउन बाँकी छ। तर छानवीन समितिले कसैलाई पनि कारवाहीको सिफारिस नै नगरी प्रतिवेदन बुझाएको बारेमा प्रहरी महानिरीक्षक भने सन्तुष्ट रहेका छैनन्।

‘कमजोरी भएको छ के के भएको हो कुन प्रहरीले कस्तो कमजोरी गरेको हो यसबारेमा भोली अरु प्रहरीले कमजोरी नगरुन भन्ने उद्देश्यले छानवीन समिति बन्छन् तर राजधानीमा भएको यति ठूलो बद्मासीमा कसैलाई कारवाही नै नहुने गरी केही कमजोरी नै भए त?’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो, ‘पहिलो प्रतिवेदन आओस अनि कुरा गरौंला राम्रो देखिएन भने अर्को छानवीन समित पनि बन्न सक्छ।’

प्रहरीले १३ साउनमा काठमाडौंको कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु सहितको चाँदी बरामद गरेको थियो। राजधानी जस्तो संवेदनशील ठाउँबाट विहानै प्रहरीलाई समान बुझाएर तस्कर समूह गाडीसहित भाग्न कसरी सफल भए भन्ने प्रश्न सर्वक्र उठेको थियो। त्यसमा प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले शुरुमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपककुमार थापाको नेतृत्वमा समिति बनाएको थियो।

तर थापालाई साउन १४ गते सदस्यमात्रै राखेर एसएसपी सुशीलकुमार यादवलाई संयोजक बनाइएको थियो। समितिका अन्य सदस्यमा एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी दुर्गा दाहाल र राजकुमार केसी थिए। समितिले घटनामा प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन श्रेष्ठले अभियुक्तलाई भगाउन मद्दत गरेको भन्दै उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेका थिए।

दरबारमार्गका तत्कालीन प्रमुख दाहाललाई प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सरुवा गरिएको छ। प्रहरीलाई नक्कली सुन दिएर भागेका अभियुक्तलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकूले पूर्वी नवलपरासीबाट तीन दिनपछि पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल, निलेश सखिया रहेका छन्। उनीहरुसहित अहिले आठ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने घटनामा संलग्न भनिएका इल्ताफ हुसेन र सन्जय पटेल भने अझै फरार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *