म कुनै गुटमा छैन, मलाई कुनै गुटसँग नजोड्नू : वामदेव
काठमाडौं। सत्तारुढ दल नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी इतर समूहबीच विवाद भइरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटसँग नजिक नरहेको बताएका छन्। ]
गौतम नेकपाको विवाद शुरु हुँदा प्रचण्ड–माधव समूहसँग नजिकए थिए भने पछिल्ला दिनहरुमा उनी प्रधानमन्त्री ओलीसँग नजिक देखिएका छन्। तर, उनले शुक्रबार एक खण्डन प्रकाशित गर्दै आफू कुनै पनि गुटमा नरहेको भन्दै आफूलाई कुनै पनि गुटसँग नजोड्न भनेका छन्।
उनले भनेका छन्, ‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा तीन वटा विचार समूह वनेका छन् । यी समुहसंग क.केपी ओली, क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क. माधवकुमार नेपाल जोडिनु भएको छ। म समूहगत रुपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्न। तर क ओली र क प्रचण्ड ले भेट्न वोलाउँदा म जाने गरेकोछु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफूलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु। पछिल्लो मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।’
उनले अगाडि थपेका छन्, ‘‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो। त्यसै कारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै उहाँहरुले बोलाउँदा मैले भेट्ने गरेको छु। मैले समय–समयमा भेट गरेको वेला क. ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु। क. प्रचण्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छु। पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको वैठक वा भेलालाई मैले गुट मान्दैन। त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।’
अर्को प्रसंगमा उपाध्यक्ष गौतमले हालै लगानी बोर्डको सीईओ नियुक्त भएका सुशील भट्टसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएका छन्। भट्टको नियुक्तीमा विवाद भइरहेको छ। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले यो नियुक्तिमा असन्तुष्टि व्यक्त गरिसकेका छन्।
गौतमले भनेका छन्, ‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ। तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन। यो मेरो सरोकार भन्दा बाहिरको विषय हो।
Facebook Comment