लकडाउन खुलेपछि २४६ जनाको शव नेपाल ल्याइयो, १७२ को विदेशमै अन्त्येष्टि
काठमाडौँ। वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ।
वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार लकडान सुरु भएदेखि नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ शवमध्ये १७२ जनाको शव विदेशमा नै अन्त्येष्टि लागि सहमति प्राप्त भएको हो। यसमध्ये २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ।
बोर्डले दिइएको जानकारी अनुसार विदेशमा १५ जना महिलाले ज्यान गुमाएका छन्। सबैभन्दा बढी साउदीमा एक महिलासहित १७३ जना नेपालीले ज्यान गुमाएका छन्। सबैभन्दा कम ओमानमा दुई जना पुरुषले ज्यान गुमाएका छन् । यसै गरी मलेसियामा ९२ जना नेपालीले ज्यान गुमाएकोमा आठ जनाको विदेशमा अन्त्येष्टि लागि सहमति प्राप्त भएको र ८४ जनाको शव परिवारलाई बुझाइएको छ।
युएईमा पाँच महिलासहित ८३ जनाले ज्यान गुमाएकोमा ६० जनाको शव विदेशमा अन्त्येष्टिको लागि सहमति प्राप्त भएकोमा १८ जनाको शव परिवारलाई बुझाइएको र बाँकी पाँच जनाको शव विदेशमै रहेका छन् ।
कतारमा दुई महिलासहित ७७ जना नेपालीले ज्यान गुमाएकोमा २७ जनाको शव विदेशमै अन्त्यष्टिको लागि सहमति प्राप्त भएको र ४९ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाइएको छ । एक जनाको शव विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
कुवेतमा छ महिलासहित २५ जना नेपालीले ज्यान गुमाएकोमा १३ जनाको शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र १० जनाको शव नेपालमा परिवारलाई बुझाइएको दुई जनाको शव विदेशमै रहेको छ ।
बहराइनमा ११ पुरुषले ज्यान गुमाएकोमा चार जनाको शव विदेशमा अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र छ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाइएको छ । एक जनाको शव विदेशमै रहेको छ । कोरियामा आठ जनाले ज्यान गुमाएकोमा पाँच जनाको शव कोरियामै अन्त्यष्टिको लागि सहमति प्राप्त भएको र एक जनाको शव परिवारलाई बुझाइएको तथा दुई जनाको शव कोरियामै छ ।
अन्य मुलुकका एक महिलासहित २३ जनाले ज्यान गुमाएकोमा १४ जनाको शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र नौ जनाको शव विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको खबर आजको गोरखापत्रले प्रकाशित गरेको छ।
Facebook Comment