व्यवसायी पसल कुर्ने ग्राहक भाउ बुझ्ने
काठमाडौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ दिनहुँ उकालो लागेपछि नेपालमा सुनको व्यवसायी सङ्कटमा पर्न थालेका छन्। सामान्य अवस्था दैनिक १० देखि २० किलोभन्दा बढी र तीज, दशैँ, तिहार तथा विवाहका सिजनमा ३० देखि ४० किलोसम्मको व्यापार हुने गरेकोमा कोरोनाको सङ्क्रमण र मूल्य वृद्धिसँग कारोबार ठप्प जस्तै छ।
सुनको मूल्य बढेपछि किन्नेभन्दा बढी बेच्ने होलान् भन्ने व्यवसायीको अपेक्षा भए पनि खासै बिक्रेता पनि नआएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर वज्राचार्यले बताए। उनले भने, “नेपालमा ढिक्का सुनभन्दा पनि गहना बनाएर राख्ने प्रचलन रहेकाले मूल्य निरन्तर बढिरहँदा उपभोक्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ। ”
खासमा सामान्य ग्राहकको सुनप्रतिको आकर्षण अहिले सुनको बढ्दो भाउ बुझ्दै
आश्चर्य प्रकट गर्नु मात्र रहेको पाइन्छ । ग्राहकले मूल्य बढेका आधारमा सुन बिक्री गर्न जाँदा व्यवसायीले करिब पाँच प्रतिशतसम्म रिफाइनरी चार्ज (ज्याला जर्ती) भनेर कट्टी गर्ने आपसी समझदारी गरेका छन्। सामान्य अवस्थामा भने यो दुईदेखि तीन प्रतिशत मात्र रहन्थ्यो।
महासचिव वज्राचार्य भन्छन्, “यो कुनै नियम बनाएको होइन किन्ने र बेच्ने बीचको आपसी समझदारीले अधिकतम पाँच प्रतिशतसम्म गर्न सकिने भन्ने समझदारी भएको हो। ”
महासङ्घका अनुसार नेपालमा सुनचाँदीको व्यवसायमा करिब ६० अर्ब रुपियाँको लगानी छ। यो व्यवसायमा देशभर करिब २२ हजार व्यवसायी आबद्ध छन् । तीमध्ये काठमाडौँमा दुई चार जना व्यवसायी विदेशी पनि रहेका छन्।
सुनका गरगहना तयार गर्न र बिक्रेताका रूपमा यो क्षेत्रमा करिब दुई लाखभन्दा बढी श्रमिक आबद्ध छन्। तीमध्ये ७० देखि ८० प्रतिशत श्रमिक विदेशी रहेकाले अहिले आ–आफ्नो घर फर्किएका छन्। बन्दाबन्दी सकिएपछि करिब १० प्रतिशत काममा फर्के पनि उनीहरूले काम पाउन नसकेको महासचिवको भनाइ छ। याे समाचार गाेरखापत्र दैनिकमा राधा चालिसेले लेखेकी छन्।
Facebook Comment