पटक पटक बैठक स्थगित हुँदा पार्टी कमजोर भयो : मण्डल

डिसी नेपाल
२६ साउन २०७७ १२:२४

काठमाडौं। नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डलले पटक पटक स्थायी कमिटी बैठक स्थगित हुँदा पार्टीलाई कमजोर बनाएको बताएका छन्। उनले पार्टीलाई बलियो बनाउन पार्टीको लक्ष्य र उद्देश्यलाई अगाडि बढाउनु पर्ने बताए।

डिसी नेपालसँगको सम्वादमा सांसदसमेत रहेका केन्द्रीय सदस्य मण्डलले जारी स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदा पार्टी कमजोर भएको बताएका हुन्। ‘विकासको लागि पार्टी व्यवस्थित हुनुपर्छ। सरकारको कामलाई प्रभावकारी बनाउनको लागि पार्टी एकताबद्ध र सुदृढीकरण हुनुपर्छ,’ उनले भने, ‘सबैतिर एकताबद्ध भएर काम गर्ने समयमा पार्टीको बैठक टुंगो नलाग्दा जनतामा निरासा छाएको छ।’

उनले सरकार संकुचित घेरा भित्र रहेकाले सरकारको काम प्रभावकारी नभएको दाबी गर्दै सरकारले जन अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा अन्योल उत्पन्न भएको बताए।

उनले पार्टीभित्रको विवाद समाधान गरी सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिए। ‘पार्टीभित्र भएको विकृति विसंगतिलाई हटाएर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उनले जोड दिए।

‘अहिले पार्टीभित्र विवाद देखिनुको मुख्य कारण सरकार एकलकाटे तरिकाले संचालन हुनु हो,’ उनले भने, ‘प्रधानमन्त्रीले बोलेपछि त्यो नीति नियम बन्ने अवस्था सृजना भएको छ, जुन उचित होइन।’

उनले मंसिर ४ गतेको सहमति अनुसार प्रधानमन्त्री ओलीको काम प्रभावकारी भए मात्र पाँच वर्षसम्म प्रधानमन्त्री पदमा रहने र कार्यकारी अध्यक्ष पद प्रचण्डले सम्हाल्ने सहमति भएको उनले दाबी गरे।

‘प्रधानमन्त्री ओलीको काम पटक–पटक असफल देखियो। अर्को भनेको प्रचण्डलाई काम गर्न दिइएन,’ उनले भने, ‘प्रचण्डलाई अध्यक्ष सम्हाल्न नसक्ने पात्र बनाइयो। इतिहासले प्रचण्ड कार्यकारी अध्यक्ष सम्हाल्न नसक्ने पात्र भन्छ?’

मुलुकलाई आजको स्थितिमा ल्याउन प्रचण्डको मुख्य भूमिका रहेको दाबी गर्दै उनले अहिले प्रचण्ड पछि पर्नुको मुख्य कारण बल मिच्याइँ भएको बताए। उनले ओलको जस्तो स्वभाव प्रचण्डको नभएका कारण प्रचण्ड पछि परेको जस्तो देखिएको बताए।

पछिल्लो समय प्रचण्डको ध्येय पार्टीलाई कसरी जोगाउने भन्ने मात्र रहेको उल्लेख गर्दै पार्टीले कार्याकारीको भूमिका प्रचण्डलाई दिएपनि काम गर्न नदिइएको उनले सुनाए।

उनले प्रधानमन्त्री ओलीले सिंगो राष्ट्र मिलेर कोरोना महामारीसँग जुध्नु पर्ने बेलामा दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि पार्टीभित्र विवाद सृजना भएको उनले दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *