को हुन् गोंगबु हत्याकाण्डकी अभियुक्त ? प्रहरीले सार्वजनिक गर्यो फोटोसहितको विवरण

डिसी नेपाल
२७ साउन २०७७ १२:२४

काठमाडौं। गोंगबुमा एक व्यक्तिको हत्या गरी टाउको छिनाएर शवलाई सुटकेसमा हालेर फ्याँकी फरार भएको अभियोगमा पक्राउ परेकी महिलाको तस्वीरसहितको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेकी महिला कल्पना मुडभरी (पौडेल) रहेको प्रहरीले जनाएको छ । उनी चितवन जिल्ला कालिका नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौं टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने गरेको प्रहरीको विवरणमा उल्लेख छ ।

३७ बर्षकी कल्पना पेशाले गृहिणी हुनुका साथै केही टेलिश्रृंखलामा अभिनय समेत गरेको प्रहरीले जनाएको छ । आइतबार शव भेटिएपछि अनुसन्धानको क्रममा उनलाई हिजो सोमबार चितवनको कालिका नगरपालिका वडा नं. ९ शक्तिखोर स्थित माईतीबाट पक्राउ गरिएको हो । प्रहरीको विवरणअनुसार मृतक र अभियुक्त कल्पनाबीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको खुलेको छ ।

मृतक कृष्णबहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको र बोहोराले कल्पनाको फोटो राखी फेक फेसबुक आइडी खोली चलाउने गरेको भन्ने बुझिएको समेत प्रहरीको विवरणमा उल्लेख छ । मृतक बोहोराले कल्पनालाई आफू अनुकूल चल्नको लागि दबाब दिने गरेको समेत अनुसन्धानको क्रममा खुलेको छ ।

बोहोरा घटनाको दिन आफू बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएका थिए । कोठामा आएका बोहोरालाई कल्पनाले दही, चिउरा, मासु र भोड्का खान दिएकी थिइन् । हत्या गरी शव फालेपछि उनी त्यसै दिन बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको समेत खुलासा भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *