प्रहरीको दुई नम्बर गण र विपद् व्यवस्थापन विभागको भवन आइसोलेशन कक्षमा परिणत

डिसी नेपाल
२७ साउन २०७७ २१:५७

काठमाडौं। प्रहरी कर्मचारीमा कोरोनाको संक्रमण बढ्दै गएपछि प्रहरीको २ नं गण र विपद व्यवस्थापन विभागको भवन पुरै खाली गरिएको छ।

प्रहरी जवान र जुनियर अधिकृतका लागि कोरोना संक्रमण भएमा त्यहाँ राख्नका लागि आइसोलेशन कक्ष बनाउने प्रयोजनार्थ खाली गरिएको हो। प्रहरी महानीरिक्षक शैलेश थापाले केही दिनअघि २ नं गण र विपद व्यवस्थापन केन्द्र रहेको भवन खाली गरेर प्रहरी कर्मचारीको लागि आइसोलेशन बनाउन निर्दैशन दिएका थिए।

काठमाडौंमा करिब एक सय ५० प्रहरी संक्रमित भएको तथ्यांक छ। महानीरिक्षकले दुवै भवन खाली गरेर आइसोलेशन बनाउन लगाएको प्रहरी उच्च स्रोतले जानकारी दियो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जुनियर अधिकृत जसको आफ्नो काठमाडौंमा घर छैन उनीहरुका लागि तथा जवानहरुका लागि २ नं गण र सामाखुशीस्थित विपद व्यवस्थापनको भवन प्रयोग गरिने छ।

सिनियर अधिकृतलाई भने घरमै आइसोलेशनमा बस्न निर्देशन दिइएको छ। प्रहरीमा कोरोना संक्रमणको दर बढ्दै जाने आशंकाका कारण गण र ठूला भवन खाली गर्नु परेको प्रहरी प्रधानकार्यालयको दावी छ। काठमाडौं बाहिर रहेका संक्रमितलाई उता उपचार हुन पाएन भने पनि काठमाडौं ल्याउने उद्देश्यका साथ ती दुई ठूला भवन खाली गरिएको हो।

प्रहरी प्रधान कार्यालयमा रहेको क्यान्टिन बन्द गरिनुका साथै सवारी शाखालाई त्यहाँबाट सारिएको छ। सिन्धुपाल्चोकमा पहिरो पीडितको उद्धारमा गएर आएका प्रहरीमा कोरोना देखिएपछि प्रहरी प्रधान कार्यालय भित्रै संक्रमण फैलिएको थियो। प्रहरी प्रधान कार्यालय परिसरमै कोरोना देखिएपछि हाल त्यहाँ सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ भने प्रहरी कर्मचारीहरुलाई पनि थोरै संख्यामा उपस्थित गराइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *