राजा बीरेन्द्रलाई बाघ बचाएझैं बचाउन पाएको भए ?
निर्दलीय व्यवस्थाको स्कूलिङबाट डोको नाम्लो छाढेर सैनिक स्कुलले पठनपाठन गरायो र टाठोबाठो सक्षम लाठे बनायो। पूर्व सैनिक पिताको कति सुन्दर र पवित्र प्रसाद!
त्यही शिक्षा र अभ्यासले सैनिक पेशाप्रति उत्कट अभिलाषा जगायो र स्वस्फूर्त सैनिक प्रवेशको ढोका खोलिदियो। गौरवमय परम्परा र अवसरहरुको हिमचुली भएको संस्थामा उपभोग गरेका अवसरहरु बयान गरिनसक्नु छन्–
हिमालको रजाई, जंगलकला, पौडी र वाटरम्यानसीपकला, घोडचढी, मगटावर जम्प, ओमेगा फल, बन्जी, प्याराग्लाइडिङ, प्याराजम्प, स्काईडाईभ, मंकी र रिपेलिङ, विविध खेलकुदका अवसरलाई शब्दमा कसरी वर्णन गरुँ ?
गर्विलो संस्थाले प्रवीणता प्रमाणपत्र तहलाई बन्दुक र हेलमेटमा स्नात्तकोत्तर गराएर ओजिलो सैनिक बनाइदियो। सैनिक शिक्षा, तालिम, प्रशिक्षण, अभ्यासको पाटो र सीप कति हो कति। विदेश तालिम, अभ्यास, गोष्ठी, एट्याचमेण्ट, निरीक्षणको दुर्लभ अवसरले आधा संसार देख्न, टेक्न, बुझ्न पाइयो।
संयुक्तराष्ट्र संघ र बहुराष्ट्रिय सेनाको अभिन्न अंग भएर विश्व शान्ति स्थापनाको हिस्सा हुन्न पाएको गर्विलो अवसर उस्तै सानदार र गरिमामय भयो।
विकट ग्रामीण दुःखियालाई संस्थाले मध्यमस्तरीय शहरी हैसियतवाला बनाएको गुणप्रति कसरी अनुग्रहित नहुनु? विशाल संस्था अवसरहरुको साँच्चीकै खानी हो नेपाली सेना। ब्रिकलेयर, इलेक्ट्रिसियन, प्लम्बर, पेण्टर, वेल्डर, ड्राइभर, मेकानिक्स, ब्याण्ड, गनर्स, सिग्नलर्स, इन्जिनियर्स, डाक्टर, नर्स, पाइलट, इन्फ्यान्ट्री, शिक्षक, लाइब्रेरियन, भेटेनरी, वेटर्स, क्लिनर्स, खेलाडी, उद्धारकर्मी, सबै जनशक्ति उत्पादन गर्ने कारखाना हो सिंगो संस्था। ती अवसरहरु इच्छा भोजन जस्तै हुन्। सबै खाउँ, पाउँ, गरुम जस्तो।
कसरी लोकप्रिय राजाको दरबारभित्र कलह र असन्तोषको बिजारोपण गरियो? र, हामी सुरक्षाकर्मीले किन लाटाको पापा हेरेर बस्यौं? मुलुकका लोकप्रिय र जनप्रिय राजालाई कसरी गर्लम्म ढालियो र बाँकी सबैलाई छेकी छेकी मारियो? पहिलो मनखत यही रह्यो। आफू ड्यूटीमा भएको भए जंगलको बाघ बचाए झैं आफ्नो ज्यान त्यागेर भए पनि प्यारो राजा बचाउने थिएं भन्ने रक्षाभावले घोचिरहन्छ।
जुनिभर सैनिक भईराखूँजस्तो। पंक्तिकारले इच्छाएनुसार अत्यधिक सीप र सेवाले सुसजिज्त हुन पाएँ । गनर्स, रेञ्जर, निकुञ्ज रेञ्जर, स्पेशल फोर्स, प्याराटुपर, उद्धारक, खेलाडीका रोजा ट्रेडले तिखारिन पाएँ। निकुञ्ज रेञ्जर, स्पेशल रेस्क्युकला र आकाशको उड्नेकला सर्वाधिक रोचक, प्रिय र जनसम्पर्कका सुत्रधार सिद्ध भए। शान्तिसेना अमिलो तर दरो कमाईको भाँडो भयो।
अनुभवको चाङ
३७ वर्षे सैनिक र अर्धसैनिक (३४+३) जीवन विविध रंग र रुपले भरिएको छ मेरो। वर्तमान ‘अर्ध सैनिक जीवन’ नै भइगयो र त्यसका अनुभवका खातहरु भरिँदै जान बाँकी नै छ।
बहुआयामिक तालिम, बहुउद्देश्यीय जिम्मेवारी, विविध दर्जा (७) को भर्याङ रहस्यमय र रोमाञ्चित हुने नै भयो। निर्दलीय, सुधारिएको पञ्चायत, बहुदलीय र गणतन्त्रसम्मको अनवरत तथा अथकित यात्रा र मिश्रित अनुभवको चाङले आत्मविश्वासी र अग्राख बनाउँदै लग्यो। जति जति उमेर ज्ञान, सीप र अनुभवका पत्रहरु थपिँदै गए उति उत्साहित खुशी र सुखी हुँदै गइयो।
थोरै जिज्ञाशा, दुविधा, अन्यौलता र असहमतिका जरा पलाउने नै भए। तर सैनिक मर्यादा अनुशासन र आचारसंहिताले जिज्ञाशामा बिर्को लगाउन निर्देशित गरेको थियो।
पृथक चस्मा
सैनिक पेशामा रहुन्जेल अप्रेचरको मसिनो होलबाट सिधा अगाडि टाढाको टार्गेटमात्र हेर्न सिकाइयो। टार्गेटको पछाडि तलमाथि वरिपरि हेर्न निषेध गरियो। ३७ वर्ष लगाएको घोडाको टापले अगाडिबाहेक सर्वत्र हेर्न पाइएन।
सधैं आइसोलेसन। सधैं लकडाउन। अगाडिको भेडा पछि पछि लागेर लुरुलुरु अनवरत यात्रा गरियो। अप्रेचरको होलबाट देखेको दुनिया सानो र साँघुरो थियो।
जब निकुञ्ज पुगें, पिंजडाको ढोका खोलियो। कति चौडा र गहिरो आकाश! कति फराकिलो धर्तीमाता। कति विशाल र महान जनता। कति विविध र अपरम्पार प्रकृति ∕ सर्वाधिक प्रिय कर्मथलो। स्वतन्त्रता प्राप्त भएको सुन्दर स्वर्ग !
खाली आँखाको दृश्य
३७ वर्षपछि १४ आइटम सरकारी सामानसँगै टापवाला चस्मा बुझाइयो। खाली आँखाले हेरेको दुनियाँ पृथक र रहस्यमय देखियो। आशा, भरोसा, उज्वल भविष्यको चाँदीको रेखा, गुलियो चास्नी, अमिलो र अन्धकारमा परिणत हुने गरी पश्चातापको बादलले गर्वमाथि ग्रहण लगाउन थाल्यो। खाली आँखाले नयाँ नयाँ जिज्ञाशा राख्न र जवाफ माग गर्न थाल्यो।
राजाको सुरक्षा सुदृढ बनाउने नाममा नयाँ नयाँ संरचना र पद सिर्जना गर्दै गयौं। तर खोई खबर, विश्लेषण, निचोड, इण्टेलिजेन्स र काउण्टर इण्टेलिजेन्स? खोई परमाधिपतिको सुरक्षा निगरानी, अनुगमन, घटनाको हस्तक्षेप, नियन्त्रण, बचाउ, उद्धार र उपचार? खोई बग्रेल्ती हातहतियारको कोत, साँचो र नियन्त्रण? खोई मनोवैज्ञानिक अध्ययन, अनुसन्धान, विश्लेषण र मनोपचार?
कसरी लोकप्रिय राजाको दरबारभित्र कलह र असन्तोषको बिजारोपण गरियो? र, हामी सुरक्षाकर्मीले किन लाटाको पापा हेरेर बस्यौं? मुलुकका लोकप्रिय र जनप्रिय राजालाई कसरी गर्लम्म ढालियो र बाँकी सबैलाई छेकी छेकी मारियो? पहिलो मनखत यही रह्यो। आफू ड्यूटीमा भएको भए जंगलको बाघ बचाए झैं आफ्नो ज्यान त्यागेर भए पनि प्यारो राजा बचाउने थिएं भन्ने रक्षाभावले घोचिरहन्छ।
दोस्रो, कस्तो र कसको छल प्रजातन्त्रको सेवामा ज्यानको बाजी लगाएर लतारिएछ? मातृभूमि र तिनका अवोध सन्तानलाई चुस्ने सक्ने मास्ने आत्मकेन्द्रित नाइके जसलाई बहिष्कार तिरस्कार र अस्वीकार गरेर एउटा तप्काले सशस्त्र युद्ध छेडिरहेको छ, त्यसको फेरो समातेर ओत खोज्नेलाई भेंडा नभनेर के भन्ने? कुन नैतिक बलले अभिप्रेरित भएर त्यस्ता शोषकको अनन्य आज्ञाकारी सेवक हुन सकें होला? आशाको फल कति छलकारी?
अनि किन अरुबाट रचित, प्रायोजित र सञ्चालित राष्ट्र समाप्तीको रोडम्याप बोेकेको द्वन्द्वको मोर्चामा सामेल भएर आफ्नै दिन दुःखी दाजुभाइको टाउको खोज्न झोला बोकेर हिमालपहाड तराई अपवित्र पार्न धावा बोल्ने हिम्मत गरें होला?
तेस्रो, प्रजातन्त्रलाई के दोष ? त्यसका नालायक हिमायतीहरु र युद्धरत टोली बीचको विदेशी सम्झौताको मर्म भावना उद्धेश्य के हो? दुईबीच मिलनविन्दुको जडान के हो? ती विपरीत भक्तहरुलाई जोड्ने रहस्यमय रसायन कुन हो? प्लस माइनस गरेर लादेको अप्राकृतिक, असामान्य, अस्वभाविक १२ बुँदे सम्झौता कस्तो हो? केही नजानी नबुझिकन नयाँ नेपालका हजारौं नवराजाहरुको सेवामा कसरी रातारात रुपान्तरण भएर आज्ञाकारिता दर्शाएको होला?
पवित्र मातृभूमिको पत्र–पत्र भित्र लुकाइराखेका हतियार बम र ग्रिनेडले कति चस्सचस्स घोच्दो हो नेपाल आमालाई? नाइकेहरुले हामी सिपाही र अवोध जनतालाई गुमराहमा राखेर राज्यका अवयवहरु धर्म, संस्कृति, एकता, स्वतन्त्रता, सम्प्रभुता, नैतिकता, स्वाभिमान एकमुष्ट विदेशी मालिकलाई चढाउँदा लाटाले पापा हेरेको पाप कुन मुख र आत्माले कहिले तिर्नु होला?
अल्पमत वा बहुमत, मिलिजुली वा एकल, २ वा ३ तिहाइको रंगीन सरकार जसले माटो र मतदाताको स्वामित्व किञ्चित लिएनन्। केवल किस्ताकिस्तामा मातृभूमिका प्राकृतिक सम्पदाहरु बेचेर आफू र आफ्ना विदेशी मालिकको नोकरी गरिरहेँ, कुन मुख र नैतिकताले किन र के को लागि सभक्ति समर्पित भएर तिनले बनाउने भनेको सिंगापुर र स्वीटजरल्याण्ड हेर्ने आशा पालेर मरिहत्ते गरेंहोला?
चौथो, सुन्दर कोमल सामरिक महत्वको अपिनाम्पा संरक्षण क्षेत्र र महाकालीको मुहान रक्षा नगरेर फगत वर्षेनि ट्राफिक जाम गरी जनतालाई दुःख दिएर टुँडिखेलमा हाके भएर विदेशी मालिकका नोकरहरुलाई मनोरञ्जन गराउन किन ज्यान फ्याँकेर लागें होला? टेरिटोरियल रक्षाको जिम्मेवारी तिलाञ्जली दिएर बिना अर्थ र कामको प्राचिन सेरेमोनियल जोकर भई टुँडिखेलमा नाटक देखाउन को नालायक नाइकेले कर लगाएको थियो र?
यो र त्यो पाइन भन्ने गुनासो पटक्कै होइन। कसरी किन र कसका लागि चरम दुरुपयोग भएँ र नभएको भए संस्था र देशलाई के कति दिन सक्ने थिएँ भन्ने स्वमूल्यांकन मात्र हो यो।
गर्वमाथिको ग्रहण
राष्ट्रिय सेनाले राष्ट्रिय स्वरुप, राष्ट्रिय चरित्र, राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाको रक्षा सम्मान कल्याण गर्न र सिंगो मुलुकको रक्षाकवच भएर नेपाली जनताको बृहत्तर हित र रक्षा गर्न सकेको भए आज पश्चातापको आगोले पोल्ने थिएन। राजदरबारमा पोको पर्यौं राजा गए। टुँडिखेलमा झुम्मियौं, देश कोपरियो लुछियो र मुण्डो भयो।
‘प्रजातन्त्र र गणतन्त्रको विकासको फल झर्ला र खाउँला भन्ने छल’ आँखाले बुझेन। परिवर्तनको सफेद् झूठको नारा दिमागले खुट्याउन सकेन।
परिवर्तनको छलले राज्यका सबै अंग तथा संयन्त्र दलीयकरण गरेर आफूलाई समेत निल्दैछ र राज्यको साँचो अरुलाई बुझाउँदैछ भन्ने निश्कर्षमा पुग्न नसक्नु हाम्रो इण्टेलिजेन्स शून्यताको प्रमाण थियो।
पुनसंरचना र राइट साइजिङका नाममा सेना घटाउने र सक्ने, फाष्ट ट्रयाकका नाममा कर्णेल माथिका पदहरु मास्ने, सैनिक भ्याकुम पूर्तालको लागि पुनः मिलिटरी मिशन बोलाउने गुह्य योजना बुझ्न हामीलाई वर्षौं लाग्यो। किन विदेशीले थोपरेको विखण्डनउन्मुख संघीयता हुँदैन भनेनौं? विखण्डनकारी प्रदेश विभाजनले अस्थिरता र असुरक्षा ल्याउनेछ भनेर दबाब दिन के ले रोक्यो सेनालाई?
मालिकले जुवामा नारेका हामी २ द्वन्द्वरत पक्षलाई एक पक्षको चाल र इशारामा आएको युएन मिशन अनमिनलाई नैतिकवान, सत्यवान र तठस्थ भएर काम गर किन भन्न सकेनौं?
सरकारलाई तिम्रा छरपष्ट पत्र–पत्रमा परिचालित र सक्रिय सशस्त्र समूहलाई तुरुन्त राष्ट्रिय मूलधारमा ल्याउ भन्न किन सकिएन? आफू भिलेन भएर रोकेको शान्तिक्षेत्र नेपाल पुनः प्रस्ताव गर भन्न किन सकिएन? अरुबाट लिखित र अन्यत्र निर्मित होइन आफ्नो देश,जनता, माटो हावापानी समयकाल परिस्थिति सुहाउँदो सर्वस्वीकृत सर्वमान्य आफ्नै हस्तलिखित संविधान देऊ भन्न किन सकिएन?
कक्टेलको कोक्याइ
गर्वलाई पश्चातापले निल्दा अहिले मुख कोक्याउँदछ। फेरि भर्ती भएर सेवा सच्याउँ भने उमेर छैन। साहसिक खेल, आकाशकला, हिमालकला, पानीकला, युवा जोस र जांगर क्षणिक मनोरञ्जन रहेछन्। चिरस्थायी र स्थायी भनेको प्रकृति र मातृभूमिको सत्य सेवामात्र रहेछ।
सेरोमोनियल युनिफर्मको मनोरञ्जनमा दुरुपयोग हुने र प्रकृति एवं मातृभूमिको चिरहरण भयो भने त्यो रक्षकको के काम? प्रकृति र मातृभूमि दुवैलाई बोझ। त्यही बोझबोध र हिनताबोधले लज्जावती झार बनाउँदछ बारबार।
अन्तिम पुकार
पुरानो चस्मा दोषी छ। त्यसलाई सफा चस्माले हेर्न र फराकिलो तथा गहिरो क्षितिजभित्रको दुनियालाई नियालेर राष्ट्रिय इण्टेलिजेन्स तथा राष्ट्रिय सुरक्षाको विश्वसनीय रणनीति बनाउन अपरिहार्य छ।
संगठनको महंगो पसिना र रगत परदेशमा आसिन मालिकको नोकरहरुका सेवामा होइन सिंगो मातृभूमि र सकल सन्ततिहरुको रक्षा कल्याण सेवामा लगानी होस्। र, भावी सैनिकहरुलाई नकोक्याओस्, बरु परम् सुख र सन्तुष्टीले सगर्व स्वाभिमान् साथ बाँच्ने मार्गप्रशस्त होस्।
जय प्रकृति ∕ जय मातृभूमि
Facebook Comment