एकै दिन कोरोनाबाट १० जनाको मृत्यु, लकडाउन अन्त्यपछि ५२ जनाको मृत्यु

डिसी नेपाल
२८ साउन २०७७ १९:०२

काठमाडौं। पछिल्लो २४ घण्टामा देशमा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ। नेपालमा कोरोना महामारी शुरुभएयता बुधबार मृतकको यो सबैभन्दा ठूलो संख्या हो। नेपालमा मृत्यु दर निकै न्यून देखिए पनि बुधबार भने मृतकको तथ्यांक दोहोरो अंकमा पुगेको छ।

बुधबार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, कपिलवस्तु, बारा र मोरङका विभिन्न अस्पतालमा गरेर १० जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा ९ जनाको मृत्यु भएको जानकारी दिइएको थियो। मन्त्रालयको पत्रकार सम्मेलनपछि विराटनगरस्थित कोशी अस्पतालमा एक पुरुषको मृत्यु भएको छ। यो सँगै बुधबार १० जनाको मृत्यु भएको हो। हालम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९२ पुगेको छ।

गत जेठमा कोरोनाका कारण पहिलो मृत्यु भएपछि सरकारले औपचारिक लकडाउनको अन्त्य गरेको दिन साउन ६ गतेसम्म ४० जनाको मृत्यु भएको थियो। साउन ६ गतेसम्मको तथ्यांक भन्दा त्यसपछिका २१ दिनमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा शत प्रतिशतभन्दा धेरैले वृद्धि भएको पाइएको छ। लकडाउन अन्त्य भएको बुधबार २१ दिनमा मृतकको संख्या ५२ ले बढेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मानिसहरुमा चेतनाको अभाव र अटेरीका कारण कोरोनाको संक्रमण झन बढिरहेको बताए। उनले डिसी नेपालसँग भने, ‘मानिसहरु मास्क नै लगाउँदैनन्। अटेरी गरिरहेका छन्। त्यसले जन जोखिम बढाएको छ। सकारले साढे पाँच हजार तिरेर पीसीआर परीक्षण गर्छ। तर आम जनता भने दुई सयको मास्क पनि लगाउँदैनन्।’ सरकारले हालसम्म कोरोनाको उपचारमा मात्र करिब साढे तीन अर्ब खर्च गरिसकेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *