वर्षाका कारण आधा दर्जन राजमार्ग अवरुद्ध

डिसी नेपाल
३० साउन २०७७ २३:०८

काठमाडौं। वर्षाका कारण हुलाकी राजमार्ग, महाकाली राजमार्ग, बेनी–जोमसोम–कोरेला सडक, साँफेबगर–मार्तडी सडकलगायत सडक अवरुद्ध छन् । सडक विभागले बाढी र पहिराका कारण अवरुद्ध कतिपय सडक खुलाइरहे पनि कतिपय स्थानमा अघिल्लो महिनादेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन ।

साँफेबगर–मार्तडी सडक बाजुराको अम्कोट द्वारीखण्डमा आइतबारदेखि अवरुद्ध छ । बूढीगङ्गा नदीको बहाबले झण्डै पाँच सय मिटर सडक क्षतिग्रस्त अवस्थामा रहेको डिभिजन कार्यालयले जनाएको छ । सो सडकका कतिपय खण्ड असारदेखि अवरुद्ध रहेकामा अझै खुल्न सकेको छैन । कतिपय खण्ड यस साताको वर्षाका कारण अवरुद्ध छ ।

बेनी –जोमसोम –कोरोला सडक म्याग्दीको दाना र गलेश्वरमा अवरुद्ध थियो । म्याग्दीकै काभ्रेभीर र घोप्टेभीरमा पनि सडक अवरुद्ध छ । यही साउन १० गते सडक माथिबाट आएको पहिराले बेलिब्रिज बगाएको थियो । सो राजमार्गको रुप्सेमा निर्माणाधीन पुलको जग पुरिएको छ । सो सडक नजीक राखिएको एस्काभेटर, नजिकैको घर र बससमेत बगेका थिए । नच्र्याङ तातोपानीमा निर्माणाधीन पुल र डाइभर्सन पनि पहिराले बगाएको थियो ।

महाकाली राजमार्गको सतबाँझ–दार्चुला खण्ड यही साउन ६ गतेदेखि अवरुद्ध छ । भारी वर्षापछि पहिरो र अत्यधिक वर्षाका कारण सडक अवरुद्ध बन्न पुगेको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाअन्तर्गत अर्घाखाँचीको निगाली –देउराली सडक अवरुद्ध छ । सो सडकका ठाउँठाउँमा सानाठूला पहिरो गएकाले उपलब्ध उपकरणबाट सडक खोल्ने काम भइरहेको विभागले जनाएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीअन्तर्गत कृष्णनगर र सोनापफाँटा सडक अवरुद्ध छ । बेंसीशहर –चामे सडकको घोप्टे खोलामा हिमपाइप बगाउँदा सडक अवरुद्ध बनेको छ । खोड्पे–बझाङ सडकअन्तर्गत जालिबगरमा सडक अवरुद्ध छ । भारी वर्षापछि सेती नदीको पानीले ३० मिटर सडक नै बगाएको थियो । सो सडकमाथि पहाड र तल नदी भएकाले अलिेसम्म सडक अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत दलाङ अहिले अवरुद्ध छ ।

सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले सडक वा पुल नै बगाएका स्थानमा बाहेक पहिरो हटाएर सञ्चालन गरिँदै आएको बताए। उनका अनुसार पूर्णरुपमा सञ्चालन हुन नसकेका सडक पनि एकातर्फको अवरोध हटाएर आंशिक रुपमा सञ्चालन गरिएको छ । उनले भने, “विभागअन्तर्गतका डिभिजनहरु जेठदेखि नै तयारी अवस्थामा छन् ।”

अरनिको राजमार्गको झण्डै १५ स्थानमा सडक एकातर्फबाट सञ्चालन भइरहेको छ । कोशी राजमार्ग, बेंसीशहर –चामे सडकका विभिन्न खण्ड, कान्ति लोकपथ, नारायणगढ–मुग्लिन सडकको १९ किलोलगायत सडक पनि अहिले आंशिक रुपमा सञ्चालनमा छन् । त्यस्तै सिद्धिचरण राजमार्गको सिस्नेरी भीर र साल्मे भीरखण्ड, मलेखु–मुग्लिन सडकको जोगीमारा र मौवाखोला सडक पनि आंशिक रुपमा रुपमा सञ्चालनमा छ । लेगुवा –भोजपुर सडक र सिद्धिचरण राजमार्गका विभिन्न खण्ड, बिपी राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न खण्ड पनि वर्षाले अवरुद्ध भएकामा आंशिक रुपमा सञ्चालनमा छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *