ऊन, सुन र नुन (कथा)
‘ऊन, सुन र नुन’ भन्ने कथा लेखेवापत प्रहरीले छेदी छत्तीसा भन्ने व्यक्तिलाई समाएर जन–अदालतमा हाजिर गरायो । पक्ष विपक्षका मान्छेहरुको भीड बढ्दै गयो । मानौं विपी कोईरालालाई फाँसीको सजाय सुनाउने वाला छ । बहस सुरु भयो ।
विपक्षीको वकील श्री रमैया मुल्तानीले कथाकारलाई आक्षेप लगाउँदै भन्यो, ‘ऊन, सुन र नुनको सन्दर्भ जन्माएर यो कथाले हाम्रो रोटी–बेटीको स्वार्थ र सम्बन्ध उडाउन खोजेको छ श्रीमान । यति मात्र होइन, यो नारालाई छोप्न र धूमिल पार्न खोजिएको छ । यसले रोटी बेटीको भावनालाई सिधै काउन्टर दिएको छ । कथामार्फत दुई देशबीचको सम्बन्ध र सद्भावनामाथि व्यंग्य गरेको छ । कथाकारको यो सोच र यो कदम निन्दनीय छ । त्यसैले कथाकर छेदी छत्तीसा दण्डनीय छ ।’ उसले एकै सासमा वहस टुंग्यायो ।
जन अदालतको परिसरमात्र होइन इजलास पनि टनाटन भरिएको थियो । फेरि खान्जी खातीको बहसले कृष्णप्रसाद भण्डारी, कृष्णप्रसाद पन्त, शंकर घिमिरे र प्रकाश वस्तीको सम्झना गराउँथ्यो । मुस्ताङ ल फर्मको लिखतमा अग्रसारित मुद्दालाई खान्जीको बहसले पुरै चुल्याउँछे भन्ने लोक विश्वास थियो । त्यसैले पनि भीड थियो ।
वकीलले कालैकोट लगाउन पर्छ भन्ने प्रतिगामी विचार छोडिसकेका थिए । सुनौलो कोटमा अग्रसर रहेर वकील खान्जी खातीले कथाकारको तर्फबाट बहस गर्दै भनिन्,‘श्रीमान, तपाईँ मेरो श्रीमान होइन है, म त कुमारी नै छु । यो श्रीमान भन्ने सम्बोधन पनि बुजुर्वा, प्रतिगामी अवशेष नै हो, भोलि यो अवश्य फेरिएला आँखा खुलेपछि ।
इजलास अट्टाहासले भरियो । श्रीमानले मुङ्ग्रो ठटाएर सावधान गरायो–अडर, अडर….
‘भन्नै पर्यो श्रीमान । रोटी–बेटीको सम्बन्ध त भर्खरकै हो । इंडिया जन्मेकै भर्खर हो १९४७ मा । पाकिस्तानभन्दा पनि कान्छो हो । इंडिया जन्मेपछि र धेरैपछि खास गरेर पञ्चायत कालपछि नै रोटी–बेटीको सम्बन्ध अनुभव गरेर बोल्न थालिएको हो । शब्दको प्रयोगको इतिहासले यसको निश्चय गर्दछ ।
आयो ऊन, सुन र नुनको कुरा, यस सम्बन्धमा तीन शब्द छन् । यसको गरिमा फरक छ । इतिहासको कुरा गर्ने हो भने चीन–तीब्बततर्फ उन, सुन र नुनको सम्बन्ध अनादि पुरानो र अनन्तकाल पर्यन्त स्थिर रहनेछ । साडी, चोली, सिन्दुर, पोतेवाला समाज देखाएर कसैले अधिकारपूर्वक हठ गर्छ या बल्छी हाल्न खोज्छ भने त्यो उसैको नादानी हो । ती कुरा मल–मूत्र विसर्जन गरेझैं नेपालीले परित्याग गर्न सक्छन् । नातिको पनि नाति पुस्तामा जन्मेको इंडियाले नेपालको जेष्ठता बुझेर वा स्वीकार गरेर संवाद गर्नुपर्छ । छोरा जवान भएपछि मित्रवत हुन्छ भन्ने परम्परा हाम्रै हो । मर्यादामा रहनुपर्छ । पकिस्तानभन्दा इंडिया कान्छो हो भन्ने कुरा इतिहासले प्रमाणित गर्न छोड्यो र !’
‘रोटी बेटीको सम्बन्ध त नयाँ हो । ऊन, नुन र सुनसँग न त्यसको तुलाना गर्न मिल्छ न औचित्य ठहर्छ । यो चर्चा र तुलनाको विषय हुनै सक्दैन । चीनसँगको पुरानो र अपरिवर्तनीय सम्बन्धलाई धुमिल बनाउन र आफूतिर तान्न कुटिल र त्राटनपुर्ण व्यवहार गर्नैपर्छ र ? यदि इंडियाले दास मनोवृत्ति छोडेर भारतीय चरित्र विकास ग¥यो भने सबैको हाई हाई हुन सक्छ । किन्तु छोटोपन छोड्नै पर्छ । ’
श्रीमान् हाम्रालागि रोटी बेटीको सम्बन्धभन्दा उन, सुन र नुनको सम्बन्ध गहिरो छ । त्यसपछि गुन पनि जोडिएर आउँछ । यदि बराबर मान्छौं भने ऊन, सुन र नुन बोकेर आउने बुहारीलाई साढे छ वर्षमै नागरिकता दिनुपर्छ, किनभने उनीहरु हिमालयको दुर्गम बाटो पार गरेर आउँछन् । यहाँको पानी पचाउनै छ महिना लागिजान्छ ।’
अब सन्तुलन हुन्छ । उताबाट आउने हाम्रा साला र सम्धीले दाइजोस्वरुप सिमानामा विद्युतीय स्तम्भ गाडिदिने छन् । पूर्वदेखि पश्चिमसम्म सुख्खा बन्दरगाह बनाएर व्यापार बजार खोल्नेछन् । बुहारीलाई त नागरिकता मिल्छ नै हामीले अझ बढी उदार भएर सम्धी र सालालाई पनि नागरिकता दिनुपर्छ । साली र आमालाई त झन छोड्नै मिल्दैन । यस्तो हिसाब कसरी मिल्छ त्यो हिमालतर्फबाट होइन सागरतर्फबाट आउनेसँग सिक्नुपर्छ ।’
‘श्रीमान्, त्यसैले रोटी बेटीको सम्बन्धको पक्षमा बहस गर्नेले ऊन, सुन र नुनको सम्बन्धबाट यहाँ आउनेलाई समान सुविधा र अधिकार दिलाउने प्रयत्न गर्नुपर्नेछ । हाम्रो दृष्टिमा दुवै छिमेकीबाट आउने बुहारी राज्य सत्तामा बराबर हकदार हुनेछन् । ’
‘त्यसैले श्रीमान् दक्षिणतर्फबाट आजसम्म जति बुहारी र साला, ससुर यहाँ आए ठीक त्यति नै उत्तरपट्टिबाट पनि आउन पाउनुपर्छ । हामी चीन सरकारसँग अनुरोध गरौँ । हामीलाई त्यताबाट बुहारी ल्याउने अवसर मिलोस र हाम्रा छोरीले पनि त्यताबाट जुवाईँ भित्र्याृउन पाउन् । हामी ससम्मान स्वागत गर्नेछौँ । त्यसैका लागि यहाँ गुम्बा बनाइएका हुन् । असजिलो हुनेछैन् ।’
‘श्रीमान्, रोटी बेटीको स्वागतमा गीत गाएको धेरै भो अब उन, सुन र नुनको स्वागत वान्छनीय र, परिवेश अनुकुल छ ।’
जज अभयंकर सुनामीले फेरि एकपटक पूर्वपक्षका वकील श्री रमैया मुल्तानीलाई सोधे, ‘आफ्नो पक्षबाट केही थप्नु छ ?’
‘छैन, म वकील साहिबा सुश्री खान्जी खातीको विचारसँग सहमत छु । हामीले दुवै छिमेकी देशका नागरिकलाई बराबर मान्यता दिनुपर्छ । अझ उत्तरतर्फबाट आउनेलाई पनि भिसा पासपोर्ट नलाग्ने गरी प्रवेश सुलभ गराउनु पर्छ । हाम्रा लागि दुवैमित्र बराबर हुन् ।’
जजको कुर्सीबाट जनअदालतको निर्णय सुनाउँदै अभयंकर सुनामीले भने– ‘हाम्रा लागि दुवै छिमेकी मुलुकबाट आउने बुहारी र बुहारीसँग जोडिएर आउने सदस्यहरु बराबर हुन् । त्यसैले समान अधिकार र सुविधा दिन सरकारलाई यो अदालत निर्देशन गर्दछ ।’
यतिञ्जेल दक्षिणतर्फबाट आएकाहरुको संख्या सरह उत्तरबाट आउने संख्या पु¥याउने र त्यसपछि थपिन आउने संख्यालाई बराबरीले वृद्धि गर्दे जाने । यसबाट सन्तुलन कायम हुने र एकतर्फी चाप रोकिनेछ ।
प्रवेशको हकमा दुवैतर्फबाट कि समान भिसा पासपोर्ट लागु गर्ने कि दुवैतर्फ खुला गर्ने, तथा हाललाई उत्तरबाट आउनेको संख्या दक्षिणबाट आउने सरह नपुगेसम्म दक्षिणको ग्राहयतालाई स्थगन गर्ने ।
साथै यो अदालत कथाकार श्री छेदी छत्तिसालाई देश, काल, अवस्थाअनुसार समाजका विभिन्न एकाइमा निरीक्षण मन्थन गरी आलोचनात्मक प्रहारबाट परिष्कार ल्याउने र सही गन्तव्य देखाउने सोच राखेकोमा आरोपबाट मुक्त गर्दछ । तथा साहित्यप्रति सम्मान गर्दै लेखन कर्ममा निरन्तरता रहोस भन्ने कामना गर्दछ ।
Facebook Comment