कार्यदलबारे अहिले के टिप्पणी गर्नु, के काम गर्छ हेरौंः माधव नेपाल
काठमाडौं। पूर्व एमालेबाट वरिष्ठ नेता माधव नेपाल समूहलाई साथमा लिएर कार्यकारी अध्यक्षको भूमिकामा रहेका पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा बाध्य पार्ने रणनीति लिएका थिए।
जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनु पर्ने बताएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। तर शुक्रबार पार्टी विवाद समाधानको लागि भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेपछि प्रचण्डलाई साथ दिँदै आएका माधव नेपाल असन्तुष्ट बनेका छन्।
वरिष्ठ नेता नेपाल पार्टीभित्रको विवाद जारी स्थायी कमिटी बैठकबाट समाधान गर्नुपर्ने पक्षमा थिए। तर प्रचण्डले ओलीसँग सहमति गरेर ६ सदस्यीय कार्यदल गठन गरेपछि नेपाल असन्तुष्ट बनेका हुन्। ‘पार्टीभित्रको विवाद समाधान पार्टी कमिटीका बैठकबाट नै गर्नुपर्छ,’ नेता नेपालको भनाइ उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘अहिलेको विवाद पार्टी कमिटीमा उठेको हो। यो जारी बैठकबाट नै निष्कर्षमा पुर्याउनुपथ्र्यो। अब फेरि कार्यदल गठन भएको छ, कार्यादलले कसरी काम गर्छ, अहिले नै टिप्पणी गर्नु हतार हुन्छ।’
नेता नेपाल अहिले ओलीलाई दुई मध्ये एक पदबाट हटाउने उपयुक्त मौका रहेपनि प्रचण्डका कारण त्यो अवसर गुमेको निष्कर्षमा पुगेका छन्। ‘विशेष गरी ओलीलाई अध्यक्षबाट हटाएर एक व्यक्ति एक पद पार्टीमा लागू गर्ने राम्रो अवसर आएको थियो,’ नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कार्यदल गठन प्रति हाम्रो विमति होइन, तर यस्तो अवसरलाई पार्टीको जारी स्थायी कमिटी बैठकबाटै निष्कर्षमा पुर्याउँदा राम्रो हुने थियो।’
प्रचण्डले आफू अनुकुल निर्णय नहुँदासम्म नेता नेपालको साथ खोज्ने तर आफ्नो स्वार्थ पूरा हुने अवस्था आए हतारमा गएर सम्झौता गर्ने गरेको भन्दै नेपाल पक्ष सशंकित बनेको छ।
पार्टीभित्रको विवाद बढ्दै गएपछि तीनै समूहका सांसदहरुले राजधानीमा भेला गर्दै पार्टी एकताको पक्षमा दबाव दिने निर्णय गरेका थिए। उनीहरुले आफूहरु कसैको पनि पक्षमा नभएको उल्लेख गर्दै पार्टी एकतालाई पूर्णता दिनु आफूहरुको उद्देश्य रहेको बताएका थिए। उक्त समूहमा ६३ जना सांसद सहभागी छन्। तर शुक्रबार गठन भएको कार्यदलका ६३ जना मध्ये कसैलाई पनि सहभागी गराइएको छैन।
Facebook Comment