दुली आमाको तीज

डिसी नेपाल
३२ साउन २०७७ ८:४०

वास्तबमा उहाँको नाम के थियो थाहा छैन तर सबैले दुली आम भनेर चिन्थे। नाताले मेरी ममीको काकी हुनु हुन्थ्यो। मेरो मामा घरको हजुरबुवाले ‘दुलही’ भनेर बोलाउनु हुन्थ्यो। बुहारीहरुलाई दुलही भनेर बोलाउने चलन थियो त्यति बेला। त्यही दुलही अपभ्रंश भएर दुली भएको होला भन्ने अड्कल लाउँछु, अहिले।

काली काली फरासिली बुर्ची बुढीमाउ मेरो मानसपटलमा आजसम्म पनि घुमिरहनु हुन्छ। मेरी ममीले बताएअनुसार दुली आमा बाल विधवा हुनुहुन्थ्यो। मेरो बाल्यकालमा उहाँलाई आक्कल झुक्कल देखेको थिएँ। मामाघरको देब्रेपट्टिको पाटो दुली आमाको बासस्थान थियो। प्रत्येकचोटी मामाघर जाँदा एकछाक खाना दुली आमाको घरमा खाने निम्तो हुन्थ्यो। मलाइ पनि एकदमै मन पथ्र्याे।

उहाँको कोठामा सधै धूपको बासना आउँथ्यो। विहानभरि पूजापाठमा बित्थ्यो। सिनित्त पारेर सफा गरेको भान्छा अनि नजिकै सुत्ने खाट, सफा तन्ना, सुकिलो सिरक नै कोठाको विशेष आकर्षण लाग्थ्यो। हुन त फोहोर गर्नलाई बालबच्चा थिएनन्। ७–८ बर्षको उमेरमा पनि मेरो बिशेष ध्यान उहाँको पहिरनमा परेको हुन्थ्यो। सधैं अँध्यारो रंगका लुगा लाउनु हुन्थ्यो।

निधारमा सेतो बिभुत बिशेष लाग्थ्यो मलाइ। मेरो अरु हजुरआमाभन्दा फरक लवाई खवाईले गर्दा पनि दुली आमाप्रति मेरो मनमा कौतुहलता थियो। मेरो बाल मनले सोच्थ्यो किन होला उहाँको चालढाल अनि पहिरन फरक? सुत्दा, खाना खाँदा, पूजापाठ गर्दा, पाइखाना जाँदा उहाँ छुट्टा छुट्टै लुगा लगाउनु हुन्थ्यो। विटुलो हुन्छ रे। दिनमा करीब करीब ४–५ चोटी लुगा फेर्नु हुन्थ्यो तर कुनै पनि चोलो फरिया उज्याला रंगका थिएनन्। पहिरन अलिनो रंगको भए पनि अनुहार सधै उज्यालो थियो। हसिली धपक्क बलेकी बुढीमाउ।

मामाघरबाट फर्किने बेलामा सधै १५–२० रुपैयाँ हातमा राखी दिनुहुन्थ्यो ममीको ’छोरी चुरा लाऊ है’ भनेर। हरेक वर्ष तीजमा ममीलाई तीजको भाग पठाउनु हुन्थ्यो। दुली आमाबाट चुरा पोते, फरिया किन्नलाई पैसा अनि अनदीको चामल, घ्यु, खुदो तीज लाग्नभन्दा १५–२० दिन अगाडि नै हाम्रो घरमा आइपुग्थ्यो। बिस्तार बिस्तार दुली आमाको कोसेली पातको हामीलाई बानी नै परिसकेको थियो। उहाँको कोशेलीपातले तीज जहिले पनि विशेष बन्थ्यो। तीजको रौनक नै अर्को हुन्थ्यो ।

रातो फरिया, गरगहना, छुरा, टीका, काँटा, सिंगारपटार मेरो बाल्य मानसपटलमा तीजको पर्याय बनेको थियो । त्यस्तै अनदीको चामलको लट्टे, खीर, मीठो तरकारी अचार कुखरा बास्नुभन्दा पहिले खाने चलन थियो।

रातो फरिया, गरगहना, छुरा, टीका, काँटा, सिंगारपटार मेरो बाल्य मानसपटलमा तीजको पर्याय बनेको थियो । त्यस्तै अनदीको चामलको लट्टे, खीर, मीठो तरकारी अचार कुखरा बास्नुभन्दा पहिले खाने चलन थियो।

हामी भुराहरु चाहिँ लतक्क परेको गुलियो भात भोलिपल्ट बिहान दुध हालेर खान्थेम्। दुली आमाको कोसेलीले तीज सधै रमाइलो भए पनि मामाघरमा नै गएर तीज मनाएकोजस्तो चाहिँ थिएन । कहिलेकाहीँ मेरी साथी रीताजस्तै हामी पनि तीजमा मामाघर गएर रमाइलो गर्न पाए पनि हुन्थ्योजस्तो लाग्थ्यो।

१२—१३ वर्षको उमेरमा तीजमा मामाघर जाने रहर पनि पूरा भयो। तीजमा मामाघर गएर मामाका छोरीहरुसँग नाच्दा लाउने जामा, रातो छुरा, टीका सबै तयार भै सकेको हुन्थ्यो। ममी, सानिमाहरु, माइजुहरुले कत्ति रमाइलो गर्नु हुन्छ होला हेर्न रहर हुन्थ्यो। अनि हामीलाई सधैं तीजमा कोसेलीको भारी भरिया लाएर पठाउने दुलीआमाको घरमा गएर दर खान पाइने भो भनेर एकदम खुसी लाग्थ्यो।

भदौ मास झमझम पानी पर्न बन्द भैसेको थियो। हामी आमा छोरी भरिया लाएर दर खाने अघिल्लो दिनमा नै मामाघर पुगिसकेका थियौं। मामाका छोरीहरु रन्जना, शोभा, गीता मलाई देखेर एकदमै खुसी भए। उनीहरुको रातो फरक, चुरा, टीका, देखाएँ। ममी सानिमा, ठुलीमा, माइजूहरू अनि हजुरआमाहरुको फर्याक् फुरुक् नै अर्को थियो। अनुहार धपक्क बलेको थियो।

दरको चाजो पाजोमा ब्यस्त थिए। मामाघर पुग्दा राति अँध्यारो भैसकेको र हिंडेको थकाइले दुलीआमालाई मामाघर पुगेको दिन नै भेट्न सकिएन। उहाँको सुतिसक्नु भएको थियो रे। मेरो मनमा रहेको कौतुहलतालाई सिरानीमा नै राखेर मामाका छोरीहरुसँग बात मार्दै भुसुक्क निदाएछु ।

भोलिपल्ट बिहानै उठेर दुलिआमाको खोपी तिर लागेम्। हामीलाई देखेर खुसी हुनु भो। तर अनुहार अलि मलिनो थियो । ‘लौ यो बर्षको तीज छोरी नातिनी आए’ भन्नु भो। एकै छिनमा हामी हुर्रर निस्कियौं। मामाघरको बगैचातिर लाग्यौं।

दर खाने दिनमा हजुरआमा भान्छामा लट्टे पकाउँदै हुनुहुन्थ्यो। हातमा चुरा, पोते, सिन्दुर लाएका मेरा सानिमा ठुलीमा, माइजुहरु, हजुरआमाहरु गीत गाउँदै दतिउन केलाउँदै हुनुहुन्थ्यो। त्यहा“ दुलीआमा मात्रै हुनुहुन्थेन ।

दुलिआमाले पठाउने गरेको कोसेलीपात देख्दा लागेको थियो दुली आमाले तीज कति रमाइलो गरेर मनाउनु हुन्छ होला । तर यो रमझममा हामीलाई तीजमा कुरुम्त भारी बोकाएर कोसेली पठाउने बुढीमाउ दर खानसम्म पनि आउनु भएन ।

‘पेट दुखेको छ । खान मन छैन’ भन्नु भयो । सबैजना जम्मा भएर तीजको गीत गाएको ठाममा दुलिआमालाई नदेख्दा अलि कस्तो कस्तो लागेको थियो । मैंले सोचे भोलि महादेव मन्दिर जानु हुन्छ होला ।

सबैजना रातो फरिया, पोते, सिन्दुर, टीका, तिलहरी लाएर, रातो धागोले ३ आँठे कपाल बाटेर हातमा पूजाको थाली बोकी मन्दिर जान निस्के। त्यतिबेला पनि दुलीआमा आउनु भएन । ब्रत बस्नु भयको छ। तर किन होला ब्रत बसेको मान्छे पनि रातो फरिया लाएर मन्दिर नगएको ? अनि रातो फरिया नलाएको मान्छे किन र कसको लागि ब्रत बस्नु भएको होला ? सधैं तीजमा हामीलाई कुरुम्त कोसेली बोकाएर पठाउने मान्छे दर खानसम्म उठ्नु भएन!

तीज त महिलाले मनाउने पर्ब होइन र? अनि दुलीआमालाई तीज किन लागेन? मेरो मनमा यस्तै खालका धेरै प्रश्नहरु मडारिइरहे। हुन त सानो मामाको बिहेमा पनि दुलीआमा टाउको दुख्यो भनेर सुत्नु भएको थियो।

जब शुभकार्य शुरु हुन्थ्यो दुलीआमालाई टाउको कि पेट दुख्थ्यो। तीजको रंग र रमझमले उहाँको अनुहारको रंग उडाउँथ्यो…दुलीआमा त धेरै वर्षअगाडि परलोक हुनु भयो। आज पनि तीजको रमझममा तिनै दुलीआमाहरुको फुङ्ग उडेको अनुहारले पच्छ्याइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *