अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन, भावुक हुँदै भने-उ मेराे नजिककाे साथी थियाे
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। शनिबार न्युयोर्कको एक अस्पतालमा उनको निधन भएको हो। रोबर्ट चार भाइ बहिनी मध्ये सबैभन्दा कान्छा हुन्।
उनी राष्ट्रपति ट्रम्पको निकट मानिन्थे। रोबर्टको निधनपछि राष्ट्रपति ट्रम्पले दुखी हुँदै भनेका छन्, ‘मेरो भाइको शनिबार निधन भयो। उनी मेरो भाइमात्रै नभएर नजिकको साथी थिए। म उनलाई धेरै सम्झिनेछु। हामी फेरि भेट हुनेछौं। उनको सम्झना मेरो मनमा सधैं जीवित रहनेछन्।’
७१ वर्षका रोबर्ट केही समयदेखि बिमारी थिए। न्यूयोर्कको एक अस्पतालको आइसियू वार्डमा उनको उपचार भइरहेको थियो। यद्यपि उनलाई के रोग लागेको थियो भन्ने विषयमा अहिलेसम्म केही खुलेको छैन। १३ अगस्तमा राष्ट्रपति ट्रम्प भाइलाई भेट्न अस्पताल गएका थिए।
जुन महिनामा राष्ट्रपति ट्रम्पकी भतिजी मेरिलियाको एउटा पुस्तक बजारमा आएको थियो। उक्त पुस्तकमा राष्ट्रपति र उनको परिवारका विषयमा केही विवादित विषय उल्लेख गरिएको थियो। रोबर्टले यो पुस्तकलाई प्रतिबन्ध लगाउन अदालतमा अपील गरेका थिए। यद्यपि अदालतले उनको अपीललाई खारेज गरेको थियो।
रोबर्ट ट्रम्पले आफ्नो करियरको सुरुवात वाल स्ट्रीटमा कर्पोरेट फाइनान्सिङ जोडिएका कामबाट गरेका थिए। पछि उनी परिवारको रियल स्टेट व्यापारसँग जोडिए। यो कम्पनीका कयौं ठूला ओहोदामा उनले काम गरेका थिए। उनी रियल स्टेट व्यापारमा आउने ट्रम्प परिवारका सबैभन्दा कम उमेरका सदस्य थिए।
Facebook Comment