स्वस्थ मानिसलाई जानीजानी संक्रमित गराउनका लागि अमेरिकाले बनाउँदैछ नयाँ कोरोनाभाइरस !

डिसी नेपाल
३२ साउन २०७७ १२:३३

काठमाडौं। अमेरिकाले विकास गरेको कोरोनाभाइरसको प्रभावकारिता जाँचको लागि ट्रायल जारी छ । यही बीचमा अमेरिकाले नयाँ कोरोनाभाइरस स्ट्रेन विकास गरिरहेको छ जुन भाइरसबाट ट्रायलमा सहभागी स्वस्थ स्वयंसेवकहरुलाई जानीजानी संक्रमित गरिनेछ । रोयटर्सको रिपोर्टअनुसार अमेरिकी सरकारको स्वास्थ्य एजेन्सीले ह्युमन च्यालेन्ज ट्रायलको लागि काम सुरु भइसकेको बताएको छ ।

आम रुपमा भ्याक्सिन विकास गर्दा स्वयंसेवकहरुलाई भ्याक्सिन दिइन्छ र उनीहरु आफैं भाइरसको सम्पर्कमा आउन् भन्ने प्रतिक्षा गरिन्छ । ती स्वयंसेवकहरु भाइरसको सम्पर्कमा आउँदा त्यसको प्रभावको विश्लेषण गरेर भ्याक्सिन प्रभावकारी छ वा छैन भन्ने जाँच गरिन्छ । यदि भाइरसको संक्रमणमा आएर पनि स्वयंसेवकहरु बिरामी भएनन् भने भ्याक्सिन प्रभावकारी भएको विश्वास गरिन्छ ।

यसरी भ्याक्सिनको परीक्षण गर्दा स्वयंसेवकहरु स्वयं भाइरसको सम्पर्कमा आउन समय लाग्न सक्छ । संक्रमणको प्रसार दर कम भएको स्थितिमा स्वयंसेवकहरु आफैं भाइरसको सम्पर्कमा नआउन पनि सक्छन् । यही कारण अमेरिकाले नयाँ कोरोनाभाइरस स्ट्रेन तयार गर्न लागेको हो जसबाट भ्याक्सिन लिएका स्वयंसेवकलाई जानीजानी संक्रमित गर्ने योजना छ । यसलाई ह्युमन च्यालेन्ज ट्रायल भनिन्छ । यद्यपि यसमा विवाद पनि छ ।

ह्युमन च्यालेन्ज ट्रायलमा सहभागी स्वयंसेवकलाई ज्यानको खतरा पनि हुन सक्छ किनकि भ्याक्सिनले उनीहरुलाई संक्रमणबाट सुरक्षित राख्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । अमेरिका अहिले नयाँ भाइरस स्ट्रेन विकासको प्रारम्भिक चरणमा छ । यदि ह्युमन च्यालेन्ज ट्रायलले स्वीकृति पायो भने यो पहिलेदेखि जारी फेज ३ ट्रायलभन्दा फरक हुनेछ । भ्याक्सिन विकास गर्ने कम्पनी एस्ट्राजेनेका र जोनसन एण्ड जोनसनले पनि आवश्यक परेमा ह्युमन च्यालेन्ज ट्रायलमा विचार गर्न सकिने बताएको छ ।

कोरोनाभाइरसको अहिलेसम्म कुनै निश्चित उपचार नभएकोले ह्युमन च्यालेन्ज ट्रायललाई खतरनाक मानिएको छ । तर यदि वैज्ञानिकहरुले मूल भाइरसभन्दा कम खतरनाक भाइरस स्ट्रेन तयार गरेको अवस्थामा ट्रायल सजिलो हुन सक्छ । जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थकी भ्याक्सिन रिसर्चर एन्ना डर्बिनले ह्युमन च्यालेन्ज ट्रायल सुरु गर्न ९ देखि १२ महिनाको समय लाग्न सक्ने बताएकी छिन् । त्यसपछि नतिजाको विश्लेषण गर्न अर्को ६ महिनाको समय लाग्ने उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *