पार्टी कमिटीबाट कार्यदललाई औपचारिकता दिनुपर्छ : वरिष्ठ नेता खनाल
काठमाडौं। लामो रस्साकस्सीबीच शुक्रबार पार्टीभित्रको विवाद समाधान गर्न भन्दै नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदललाई विवाद समाधानका लागि खाका तयार पार्ने कार्यादेश दिइएको छ। कार्यदलको औपचारिक बैठक शनिबार बसेको थियो।
विवाद समाधानका लागि गठन गरिएको कार्यदल दुई नेताको तजबीजमा गठन भएको भन्दै अन्य नेताहरुले भने असन्तुष्टी जनाएका छन्। विवाद समाधानका लागि कार्यदल गठन गर्नु सकारात्मक भएपनि त्यो पार्टीको कमिटीमार्फत अनुमोदन हुनुपर्ने असन्तुष्ट पक्षले माग गरेका छन्।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै ६ सदस्यीय कार्यदल गठन गरेका थिए।
तर यसअघि प्रचण्डलाई साथ दिँदै आएका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारयणकाजी श्रेष्ठलगायतका नेताले कार्यदल जारी स्थायी कमिटी वा सचिवालय बैठकबाट गठन गर्नुपर्नेमा दुई नेताले गठन गरेको भन्दै असन्तुष्टि जनाएका हुन्। ‘विवाद समाधानका लागि कार्यदल गठन गर्नु राम्रो कुरा हो,’ वरिष्ठ नेता खनालले डिसी नेपालसँग भने, ‘उक्त कार्यदललाई पार्टी कमिटीको बैठक बोलाएर औपचारिकता दिनुपर्छ।’ खनालले सचिवालय वा स्थायी कमिटीबाट कार्यदल गठन गर्दा राम्रो सन्देश जाने बताए।
खनालजस्तै वरिष्ठ नेता माधव नेपाल पनि कार्यदल गठन प्रक्रियालाई लिएर असन्तुष्ट बनेका छन्। पूर्व एमालेबाट वरिष्ठ नेता माधव नेपाल समूहलाई साथमा लिएर कार्यकारी अध्यक्षको भूमिकामा रहेका प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा बाध्य पार्ने रणनीति लिएका थिए।
जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनु पर्ने बताएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो।
प्रचण्डले आफू अनुकुल निर्णय नहुँदासम्म नेता नेपालको साथ खोज्ने तर आफ्नो स्वार्थ पूरा हुने अवस्था आए हतारमा गएर सम्झौता गर्ने गरेको भन्दै नेपाल पक्ष सशंकित बनेको छ।
पार्टीभित्रको विवाद बढ्दै गएपछि तीनै समूहका सांसदहरुले राजधानीमा भेला गर्दै पार्टी एकताको पक्षमा दबाव दिने निर्णय गरेका थिए। उनीहरुले आफूहरु कसैको पनि पक्षमा नभएको उल्लेख गर्दै पार्टी एकतालाई पूर्णता दिनु आफूहरुको उद्देश्य रहेको बताएका थिए। उक्त समूहमा ६३ जना सांसद सहभागी छन्। तर शुक्रबार गठन भएको कार्यदलका ६३ जना मध्ये कसैलाई पनि सहभागी गराइएको छैन।
Facebook Comment