काठमाडौं उपत्यकामा भेटिए अहिलेसम्मकै धेरै संक्रमित

डिसी नेपाल
३२ साउन २०७७ १७:१६

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धरै कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज उपत्यकामा १७२ जनामा कोरोना संक्रमण देखिएको छ। जुन अहिलेसम्मकै उच्च हो। उपत्यकामा यसअघि सबैभन्दा धेरै एकैदिन १३८ जना संक्रमित भेटिएका थिए।

सरकारले लकडाउन खोलेसँगै काठमाडौंमा कोरोना तीव्र रुपमा बढिरहेको छ। लकडाउनको समयमा उपत्यकामा कोरोना संक्रमित कम भेटिएपनि कोरोनापछि दैनिक एक सय भन्दामाथि संक्रमित भेटिन थालेका छन्।

पछिल्लो एक हप्ताभित्र उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ। उपत्यकामा गत मंगलबार उपत्यकामा १३४ जना संक्रमित भेटिएको थिए भने त्यसको अर्कोदिन बुधबार १३८ जना संक्रमित थपिएका थिए। यस्तै बिहिबार १२७ जनामा र शुक्रबार ११९ जनामा संक्रमण देखिएको थियो। शनिबार भने उपत्यकामा कम संक्रमित भटिएका थिए। शनिबार उपत्यकामा ९८ संक्रमित थपिएका थिए। तर आज (आइतबार) अहिलेसम्मकै उच्च १७२ जनामा संक्रमण पुष्टि भएको छ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा अत्यधिक संक्रमित थपिएका छन्। काठमाडौंमा मात्रै दैनिक सयभन्दा माथि संक्रमित थपिने गरेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ। काठमाडौंको तुलनामा भने ललितपुर र भक्तपुरमा कम संक्रमित भेटिएका छन्।

हालसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या १७ सय २२ रहेको छ। जसमध्ये काठमाडौं जिल्लामा मात्रै १४ सय २९ जना रहेका छन्। यस्तै ललितपुरमा १९३ जना र भक्तपुरमा १०० जनासंक्रमित आइसोलेसनमा रहेका छन्। योसँगै उपत्यका कोरोनाको हटस्पट बन्ने खतरा बढेको छ।

आज काठमाडौंमा १२६, भक्तपुरमा ८ र ललितपुरमा ३८ गरी देशभर ६४१ जना संक्रमित थपिएका छन्। जसमध्ये २१८ महिला र ४२३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *