सहकारी संस्थालाई मन्त्री अर्यालको निर्देशन : व्याजदर चर्को भयो, घटाउनुहोस्
काठमाडां । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीको व्याजदर चर्को भएको भन्दै घटाउन निर्देशन दिएकी छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कूून)को स्थापना दिवसमा बोल्दै उनले चर्को व्याजदरका कारण गरिव वर्गले सहकारीबाट कर्जा लिएर आफ्नो जीवनस्तर उकास्न सहज नभएकाले यसलाई घटाउनुपर्ने बताइन्।
व्याजको सन्दर्भमा छलफल गरेर जानुपर्ने भन्दै मन्त्री अर्यालले भनिन्, ‘सहकारीमा सबैभन्दा कम व्याज हुनुपर्ने हो, तर सबैभन्दा बढी भयो भन्ने गुनासोलाई सम्बोधन गर्न आवश्यक छ। सहकारीमा सबैभन्दा कम व्याज हुनुपर्ने हो। तर सबैभन्दा बढी ब्याज छ, जसले गर्दा गरिब र सीमान्तकृत, आधारभूत समुदायले कर्जा लिएर आफ्नो जीवनस्तर उकास्न सहज देखिँदैन।’
उनले संस्थागत पुँजी ५ प्रतिशतभन्दा बढी भएका सहकारीले संस्थागत पूँजीको ५० प्रतिशत उत्पादनमूलक कार्यमा लगाउनुपर्ने बताइन्।
सहकारी ब्यवसायिकतामा लैजाऊ र रोजगार सिर्जना गर्ने खालका प्रकृतिका काम गरौं भनिरहेका बेला अब बाध्यकारी नियम ल्याएर सहकारीलाई व्यवसायिकतामा लगाउनुपर्ने मन्त्री अर्यालको भनाई थियो। ‘संस्थागत पूँजी ५ प्रतिशतभन्दा बढी भएका जति पनि संस्था छन्, ती संस्थाको संस्थागत पूँजीको ५० प्रतिशत व्यवसायिकतामा लगाउने गरी तयारी गरिएको छ।’
सहकारी प्रविधिको प्रयोग र दक्षजनशक्तिको आकर्षण सोचेअनुरुप पर्याप्त हुन नसकेको भन्दै मन्त्री अर्यालले सहकारीहरु अझै पनि झोलामा हिड्न, बाकसमा राखेर चल्न रुचाउने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने बताइन्। सहकारीको मूल उद्देश्य नाफा कमाउनु नभएर सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर उकास्नु रहेको भन्दै मन्त्री अर्यालले मुलुकको अर्थतन्त्र निर्माणमा सहकारीको योगदान बढाउन सहकारी अभियान थप क्रियाशीलहुँदै जाने उल्लेख गरिन्।
Facebook Comment