कोरोना भ्याक्सिनको पहिलो पेटेन्ट हासिल गर्ने देश बन्यो चीन, कम्पनीको शेयरमा भारी उछाल
काठमाडौं। चीनको क्यानसिनो बायोलोजिक्स कम्पनीले विकास गरेको कोरोनाभाइरस भ्याक्सिनको पेटेन्टलाई स्वीकृति दिइएको छ । क्यान्सिनो बालोलोजिक्स इन्कर्पोरेट कोरोनाभाइरस भ्याक्सिनको पेटेन्ट हासिल गर्ने पहिलो कम्पनी बनेको छ । रोयटर्सले स्थानीय मिडियाको हवाला दिँदै बताएअनुसार क्यान्सिनोको एडी ५ एनसीओभी भ्याक्सिनको पेटेन्टले स्वीकृति पाएको हो ।
पिपुल्स डेलीका अनुसार चीनको नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेसनले ११ अगष्टमै क्यान्सिनो बायोलोजिक्सको भ्याक्सिनको पेटेन्टलाई स्वीकृति दिएको हो । यसअघि साउदी अरबले क्यान्सिनोको भ्याक्सिनको फेज ३ ट्रायल आफ्नो देशमा सुरु गर्न लागेको बताएको थियो । क्यान्सिनोले रुस, ब्राजिल, चिलीमा पनि फेज ३ ट्रायलको लागि कुरा गरिरहेको छ ।
पेटेन्ट दर्ता भएको खबर सार्वजनिक भएसँगै हङकङमा क्यान्सिनोको शेयर मूल्य सोमबार १४ प्रतिशतले बढेको छ । शांघाइमा कम्पनीको शेयर मूल्यमा ६.६ प्रतिशत उछाल देखिएको छ । क्यान्सिनोको यो भ्याक्सिन रुघाखोकीको भाइरसमा परिवर्तन गरेर तयार गरिएको हो । यही विधिबाट अक्सफोर्डको भ्याक्सिन पनि तयार गरिएको हो । सुरुवाती ट्रायलमा यसका कुनै साइड इफेक्ट देखिएका थिएनन् र भ्याक्सिन एन्टिबडी र टी सेल उत्पादन गर्न सक्षम देखिएको थियो ।
Facebook Comment