राष्ट्रकवि घिमिरेको निधन

डिसी नेपाल
२ भदौ २०७७ १८:४१

काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन भएको छ। मंगलबार अपरान्ह उनको निधन भएको हो। घिमिरेको १० २ वर्षको उमेरमा निधन भएको हो। उनको जन्म विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो।

घिमिरेको साहित्यीक काल नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म रह्यो। जन्मिएको तीन वर्षमा उनकी आमा बितिन। ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे। घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए।

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं १९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे। घिमिरे विसं २००५ सालमा गोरखापत्रमै सहसम्पादकको जागिरे पनि थिए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि विसं १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र विसं २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए।

विसं २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए। चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ ‘आजै र राति के देखेँ सपना’ लगायतका छन्। उनी विसं २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।

घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य) मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध) र आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) प्रकाशित कृति हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *