निषेधाज्ञामा आधारभूत बैंकिङ सेवा उपलब्ध हुने, सकेसम्म विद्युतिय कारोबार गर्न आग्रह

डिसी नेपाल
३ भदौ २०७७ १७:२१

काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधिमा पनि आधारभुत बैंकिङ सेवा संचालन हुने भएको छ। नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको अवधिमा पनि बैंकका न्यूनतम शाखा संचालन गरी नगद भुक्तानी/जम्मा, बैंक ट्रान्सफर, चेक क्लियरिङलगायतका सेवा दिन निर्देशन दिएको हो।

बुधबार निर्देशन जारी गरी केन्द्रीय बैंकले स्थानिय प्रशासनसँग समन्वय तथा कर्मचारीलाई आलोपालो व्यवस्था गरी न्यूनतम शाखा शाखा संचालन गर्न निर्देशन दिएको हो। निर्देशनमा अत्यावश्यक बस्तुको आपूर्तिका लागि ड्राफ्ट, टीटी, प्रतितपत्र, बैंक ग्यारेन्टी जस्ता सेवा संचालन गर्न, एटिएम काउन्टरमा पर्याप्त नगदको व्यवस्था गर्न भनेको छ।

यसैगरी बैंकको वेवसाईटमार्फत खुल्ला हुने शाखा तथा सम्पर्क व्यक्तिहरुको विवरण सार्वजनिक गर्न तथा बन्द भएका ठाउका लागि बैकल्पिक शाखाको विवरण उक्त शाखामार्फत जानरकारी दिन पनि निर्देशन दिएको छ।

यसैगरी विद्युतिय माध्यमबाट कारोबार गर्नका लागि प्रोत्साहन गर्नका लागि पनि केन्द्रीय बैंकले आग्रह गरेको छ।

विहीबारदेखि काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयहरुले १० दिनका लागि निषेधाज्ञा जारी गरेसँगै राष्ट्र बैंकले निर्देशन दिएको हो।

उपत्यकामा कोभिड–१९ को संक्रमण बढेसँगै गत सातामात्र राष्ट्र बैंकले आलोपालोको व्यवस्था गरी आधा कर्मचारी परिचालन गरी न्यूनतम शाखाबाट सेवा दिनका बैंकहरुलाई निर्देशन दिएको थियो।

यसैगरी मंगलबार सार्वजनिक सूचना प्रकाशित गरी नेपाल बैंकर्स संघले अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भीडभाड कम गर्नका निमित्त सहयोग गर्न आग्रह गरेको थियो। संघले डिजिटल बैंकिङ सेवाको बढी प्रयोग गर्नु र कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शाखामा फोन मार्फत् सम्पर्क गरी सहयोग लिन पनि आग्रह गरेको छ।

एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ गर्न सकिने संघले जनाएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड संक्रमितको संख्या बृद्धि भएसँगै बैंकका कर्मचारीहरुमा पनि संक्रमण फैलिएको छ। नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंकका कर्मचारी संक्रमित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *