नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह उदाउँदो सूर्य

डिसी नेपाल
४ भदौ २०७७ ६:३०

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी नेकपा एमाले निर्वाचन आयोगमा बुधबार विधिवत दर्ता भएको छ। यसअघि सो दलको निवेदनलाई लिएर नेकपा भित्र विवाद चुलिएको थियो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच २०७५ जेठ ३ मा एकता भएपछि एमाले अस्तित्वमा नभएका बेला विराटनगर ६, मोरङ स्थायी घर रहेकी सन्ध्या तिवारीको अध्यक्षतामा सो दल दर्ताका लागि गत असार १६ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो। २१ सदस्यीय केन्द्रीय कार्य समिति रहेको सो दल निर्वाचन आयोगमा बुधबार दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार सो दललाई तत्कालका लागि दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । राजपत्रमा प्रकाशित भएपछि आधिकारिक प्रमाणपत्र पछि उपलब्ध गराइने उनले जानकारी दिए। यसअघिको नेकपा एमाले को निर्वाचन चिन्ह ‘सूर्य’ रहेको थियो । त्यो चुनाव चिन्ह नेकपाले लिएको छ । तर अहिलेको नेकपा ९एमाले० दलले ‘पहाडबाट उदाउँदै गरेको सूर्य’ निर्वाचन चिन्हका लागि आयोगमा पेश गरेको छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेपछि सबै प्रक्रिया पुर्याएर आयोग बैठकले निर्णयअनुसार दल दर्ता गरिएको प्रवक्ता श्रेष्ठले बताए।

नेकपा सचिवालय बैठकमा दल दर्ताको विषयलाई लिएर टिकाटिप्पणी भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले दल दर्ता गर्न आदेश दिएको आरोप लगाएका थिए। अध्यक्ष प्रचण्डको सो आरोपपछि केही दिन नेकपाको स्थायी कमिटी बैठक नै प्रभावित हुन पुग्यो। अहिले नेकपाले साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गरेर समस्याको आन्तरिक समाधानको गृहकार्य गरिरहेको छ। कार्यदलका सदस्यहरू भूमिगतरुपमा गृहकार्यमा जुटेकाे खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *