युवाले दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्छ

डिसी नेपाल
४ भदौ २०७७ ७:१४

काठमाडौं । मनमाहेन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा अनिल भट्टराईले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले घरमा कोही दीर्घरोगी भएमा सकेसम्म उनीहरुलाई छुट्टै कोठाको व्यवस्था गर्न सल्लाह दिएका छन।

घर बाहिर निस्कने युवाले नियमित औषधी खाइरहेका दीर्घरोगीसँग सकेसम्म नजिक नजान र घुलमिल हुन नहुने उनको भनाइ छ। अहिले नेपालमा सङ्क्रमण युवाबाट सरिरहेकाले उनीहरुले बालबालिका र बृद्धासँग टाढा बस्नुपर्ने बताए। उनले भने, “सम्भव भएसम्म छुट्टै बाथरुम र छुटै कोठाको व्यवस्था गर्नुपर्छ ।”

विभिन्न किसीमका मुटुरोगीलाई आफूले खाइरहेको औषधीलाई निरन्तरता दिन पनि डा भट्टराईले अनुरोध गरे। अहिलेको समयमा चिकित्सकसम्म जान सजिलो नभएकाले खाइरहेकै औषधीलाई निरन्तरता दिनुपर्ने उनको सल्लाह छ । उनले भने, “सकेसम्म दुईतीन महिनालाई औषधी व्यवस्था गर्नु राम्रो हुन्छ ।”

अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीको पिसिआर परीक्षण गर्ने गरेको डा भट्टराईले बताए। उनका अनुसार कुनै बिरामीको आकस्मिक रुपमा शल्यक्रिया गर्नुपर्दा मात्रै परीक्षण नगरी हुने गर्छ । आफूले केही समय पहिले नसा पूरै काटिएको व्यक्तिको परीक्षण नै नगरी शल्यक्रिया गरेको उनले अनुभव सुनाए। “त्यो व्यक्तिको शल्यक्रिया सफल भएको थियो र कोरोना सङ्क्रमण पनि पाइएन”, उनले भने, “शल्यक्रियामा सहभागिले पूरै पिपिई लगाइन्छ भने बिरामीको पनि त्यसपछि परीक्षण गरिन्छ ।”

उनले कोभिडबिरुद्धको माहामारी सबैको भएकाले सबै मिलेर यसलाई जित्न लाग्नुपर्नेमा जोड दिए। यसको उपचारमा खटिएका आमनागरिकले चिकित्शक, नर्स र स्वास्थ्यकर्मीलाई सहानुभुति राख्नुपर्ने उनले बताए। धेरै स्वास्थ्यकर्मीले जोखिम मोलेर पनि उपचार गरिरहकेको उनको भनाइ छ । उनले भने, “कतिपय डाक्टर नर्सको घर भनेरै तर्सिएको पनि पाइन्छ ।”

सबै नागरिकले स्वास्थ्य सावधानीका उपाय अपनाउनुपर्नेमा डा. भट्टराईको जोड छ । भीडभाडमा सकेसम्म नजान र जानुपर्दा माक्स र सेनेटाइजरको प्रयोग गर्न उनले सबैलाई अनुरोध गरे। लामो समयसम्म कार्यालयमा बस्ने र भीडमा जानुपर्नै पेशामा व्यक्तिले घर छिर्दा लुगा बाहिर खोल्ने र हातखुटा धोएर मात्रै भित्र पस्नुपर्ने उनले बताए। उनले भने, “आवश्यक सबै सुरक्षाका उपाय अपनाउन सके मात्रै यसबाट अरुलाई रोग सार्नबाट बचाउन सकिन्छ ।” उनले घरमा बसिरहेकाले स्वस्थ खानपानमा ध्यान दिनुपर्ने बताए। नुन र चिनिको मात्रा कम गरेर हरियो तरकारी र सागसब्जीको मात्रा बढाउनुपर्नै उनको सल्लाह छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *